मदन विश्वकर्मा
बाजुरा, ८ जेठ । बाजुरामा विकासका आयोजनाहरु अलपत्र भएका छन् । बजेट थोरै हुँदा र ठेकेदार कम्पनीको लापरबाहीले सडक, पुल, खानेपानी लगायतका आयोजनाहरु अलपत्र भएको हो
स्थानीय तहमा जनप्रतिनिधि आए पनि बाजुरामा विकास निर्माणले गति लिएको छैन । निर्माणाधीन साँफेमार्तडी सडक शिलन्यास भएको २३ बर्षमा पनि पूर्ण रुपमा बनेको छैन । गुईगाड खोलामा बनाउन लागिएको पुल ८ बर्षदेखि अलपत्र अवस्थामा छ । कृषि सडक र मार्तडी कोल्टी सडकको शिलन्यास भएको १८ वर्षमा पनि पूरा भएको छैन ।
खानेपानीको चरम अभाव रहेको बाजुरामा समस्या समाधानका लागि पहल भएको छैन । खेलाडीहरुको लागि बनाउन लागिएको कवर्डहल पनि अलपत्र अवस्थामा छ । झोलङ्गे पुलहरु समेत पुराना र जीर्ण भएका छन् । बजेट थोरै हुँदा र ठेकेदार कम्पनीको लापरबाहीले आयोजनाहरु अलपत्र भएको स्थानीयको भनाई छ । पहिरोको उच्च जोखिम रहेको बाजुरामा स्थानीय काठको पुलबाट आवात जावत गर्न बाध्य छन् ।
विकासका आयोजनाहरु अलपत्र हुँदा उद्योगी व्यवसायी समेत मारमा परेका छन् । राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन् । बजेट कम भएकाले विकासका काम द्रुत गतिमा गर्न नसकिएको स्थानीय सरकारको भनाइ छ ।
अलपत्र आयोजनाहरु निर्माणका लागि बजेट बढाउन र काम नगर्ने ठेकेदार कम्पनीलाई कानुनी दायरमा ल्याउन स्थानीयले माग गरेका छन् ।