श्याम गुप्ता
बारा, ६ जेठ । इन्धन ढुवानी कार्यमा चोरी र मिसावट एक गम्भीर समस्याको रुपमा रहँदै आएको छ । इन्धन ढुवानीको क्रममा मिसावटमा कमी आएपनि नोक्सानी भने बढ्दो छ । हाल देखिएको समस्या सधैंको लागि समाधान गर्न ट्याङकरमा सुरक्षित सिल अर्थात (लकिङ प्रणाली) एकमात्रै बिकल्प बनेको छ । त्यसैले विभिन्न जिल्लास्थित आयल निगमले यो प्रणाली लागू गर्न थालेका छन् ।
बारा जिल्लामा पनि ट्याङकरमा सुरक्षित सिल गर्न थालिएको छ । यो प्रणाली कडाईका साथ लागू हुने जिल्लाका अधिकारीहरुले बताएका छन् । अमलेखगञ्जस्थित नेपाल आयल निगमको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले संयुक्त रुपमा लकिङ प्रणालीको शुरुवात गरे ।
भारतको रक्सौल र बरौनीबाट लोड भएर अमलेखगञ्ज स्थित क्षेत्रीय डिपोमा आउने ट्याङ्करबाट हुने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रणका लागि निगमले लकिङ प्रणाली शुरु गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी मानन्धरले लकिङ प्रणालीले चुहावट नियन्त्रण र लागत कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले रक्सौल र बरौनीबाट लोड हुने ट्याङ्करहरुमा शुरु गरिएको यो प्रविधिलाई अन्यत्र पनि कडाईका साथ लागू गरिने बताए । रक्सौलबाट अमलेखगञ्ज, पोखरा, काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा समेत पेट्रोलियम पदार्थ जाने गरेको र चुहावट प्रमुख समस्या देखिएको उनको भनाइ थियो ।
नेपाल आयल निगम शुद्धिकरण अभियानमा रहेको र आन्तरिक सुधारका लागि चालिएको यो कदममा असहयोग गर्ने जोसुकैलाई पनि कारवाही गरिने उनले चेतावनी पनि दिए । ट्याङकरबाट इन्धन चोर्ने व्यक्तिलाई ५ गुणा क्षतिपूर्ति जरिवाना गर्ने दाबी अधिकारीहरुले गर्ने गरेका छन् । तर, अहिलेसम्म एक जना व्यवसायी कारबाहीको दायरामा पर्न सकेको छैन । तर, अब भने निगमले ‘पेट्रोलियम पदार्थको ढुवानी विनियमावली’ मार्फत जरिवाना गर्ने जनाएको छ ।