सद्भाव बढाउने फिल्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सद्भाव बढाउने फिल्म

ghampani

काठमाडौँ, ४ जेठ । गत वर्ष प्रदर्शन भएको ‘घामपानी’ फिल्मलाई दर्शकले ‘सिम्पल एन्ड स्विट’ भनेका थिए । देखेसुनेको कथावस्तुमा सरल तरिकाले फिल्म बनाएको भन्ने खालका प्रतिक्रिया निर्देशक तथा लेखक दीपेन्द्र लामाले पाएका थिए । बिहीबार मार्टिन चौतारीमा आयोजित फिक्सन फिल्म शृंखलाको बहस सेसनमा पनि उनको पहिलो प्रयास नै राम्रो भएको दर्शकको भनाइ थियो ।

‘यसमा जातपातको कुरा देखाइएको रहेछ,’ एक पाका दर्शकले भने, ‘आफ्नै पुराना दिन झलझली याद आए । हाम्रो अन्तरजातीय सम्बन्ध घरपरिवारले स्विकारेन । हामी छुट्टियौं ।’ केहीले भने फिल्मको ग्राफ कमजोर भएको बताए । अभिनेत्री सुरक्षा पन्तले यसको द्वन्द्व सन्तुलित नभएको महसुस गरिछन् । भनिन्, ‘त्यहाँ केही इलिमेन्ट थपेको भए फिल्मले दर्शकलाई अँठयाइहन्थ्यो होला ।’

शैलेन्द्र डी कार्कीको सिनेमाटोग्राफी बलियो मानियो । यसमा देखाइएको रातो सेतो अक्षतालगायत विम्ब अर्थपूर्ण रहेको दर्शकको भनाइ थियो । फिल्म चलनचल्तीकै स्ट्रक्चरमा किन बनाएको भन्ने प्रश्नमा निर्देशक लामाले प्रस्टयाए, ‘यसरी पनि यथार्थपरक र विश्वसनीय फिल्म बनाउन सकिन्छ भन्ने देखाउन चाहेको हुँ । फर्मुला बेस्ड फिल्म पनि रियलिस्टिक बन्न सक्छन् ।’ कलाकार छान्ने कुरामा लचिलो हुनु र हतारमा स्क्रिप्ट लेख्नुलाई उनले आफ्नो भूल ठानेका छन् ।

दयाहाङ राई, केकी अधिकारी, अंकित खडका, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले खेलेको फिल्म जनजाति र बाहुन युवायुवतीको प्रेमकथामा आधारित छ । यसअघिका अन्तरजातीय सम्बन्धका फिल्ममा बाहुन र दलितको मुद्दा मात्र देखाउने गरेकामा आफूले जनजाति र बाहुनको कथा रोजेको निर्देशक लामाको भनाइ थियो । ‘यी दुई समुदायबीच फ्रेन्ड्ली कन्फ्लिक्ट हुन्छ । त्यति ठूलो कोकोहोलो मच्चाउँदैनन् तर स्विकारिहाल्न पनि चाहँदैनन् । यही कुरा रोचक शैलीमा देखाउने कोसिस हो मेरो ।’

कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले लभ स्टोरी फिल्मको फर्मुला जहाँ पनि उस्तै हुने तर मान्छेका भोगाइ अलग हुने बताए । ‘स्क्रिनप्ले फितलो छ,’ उनले भने, ‘तर, स्ट्रक्चरमा अडिग भएर बनाउनुपर्छ भन्ने मान्यता राख्दिनँ । बेलाबेला जातीयताको कुरा उठिरहने हाम्रो समाजमा यस्ता फिल्मले सद्भाव बढाउन सघाउँछन् ।’ कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);