काठमाडौं, ४ जेठ । चीनले नेपालको जलविद्युत तथा सडक पूर्वाधारमा लगानी गर्न इच्छा देखाएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा चिनियाँ प्रतिनिधि मण्डलले यस्तो इच्छा व्यक्त गरेको हो ।
चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङले मन्त्री पुनसँग भेटी सिंगो पूर्वाधार क्षेत्रमा लगानी बढाउन चीन तयार रहेको बताए । भेटमा मन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेकाले यसमा चिनियाँ लगानी आवश्यक रहेको बताए । देशमा लगानीमैत्री वातावरण बन्दै गएको भन्दै चिनियाँ लगानीकर्ता नेपालमा आउने वातावरण तयार गरिदिन पनि मन्त्री पुनले आग्रह गरे ।
जवाफमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त ऊर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न इच्छुक रहेको बताए । ऊर्जा क्षेत्रका साथै सडक पूर्वाधारमासमेत चीन सहकार्य गर्न तयार रहेको युसिङको भनाइ छ । बिहिबार नै मन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच पनि भेटवार्ता भएको थियो ।




