कान्समा नेपाली फड्को | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कान्समा नेपाली फड्को

kans

काठमाडौँ, ३० बैशाख । संसारकै प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली सिर्जनाले बाजी मारेको छ । फेस्टिभलको सात दशक लामो इतिहासमै किरण पोखरेलको सर्ट फिल्म ‘विङ्स’ ले एउटा विधामा अवार्ड पाएको हो ।

कान्समा गएको तीन वर्षयता नयाँ विधा थपिएको थियो– नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्ट । यसमा उत्कृष्ट तीन प्रयोगात्मक फिल्मलाई पुरस्कार दिइन्छ । कान्सको ७१ औं संस्करणमा नेपाली फिल्म ‘विङ्स’ ले ग्रयान्ड प्राइज जित्यो । यसले निर्देशक किरण पोखरेललाई ५ हजार युरो (झन्डै साढे ६ लाख रुपैयाँ) र इन्टरनेसनल विनर ट्रफी दिलाएको छ ।

भर्टिकल फम्र्याटमा खिचिएको ३ मिनेटको फिल्मलाई ४० देशबाट प्राप्त करिब चार सय फिल्ममध्ये सर्वोत्कृष्ट घोषित गरिएको थियो । ‘भिसाको समस्या भएर म जान पाइनँ,’ निर्देशक पोखरेलले कान्तिपुरसँग भने, ‘कस्तो ब्याड लक भयो । तर, यो अवार्डले मलाई उपलब्धि हासिल गरेको भन्दा पनि जिम्मेवारी थपिएको महसुस गराइरहेको छ ।’ आफ्नो पुरस्कार फ्रान्सका साथीले ग्रहण गरिदिएको उनले बताए ।

नेस्प्रेसोले दिएको ‘द डिफरेन्स सी मेक्स’ थिममा किरणले आफ्नै खुट्टामा उभिन चाहनेले एक विवाहित महिलाको कथा प्रस्तुत गरेका थिए । पतिले साथ नदिँदा उसले आफूलाई आत्मनिर्भर बनाउन कस्तो कदम चाल्छे भन्ने विषयमा ‘विङ्स’ केन्द्रित छ । ‘तपाईंमा क्षमता छ भने बाँधिएर बस्नु पर्दैन भन्ने देखाउन खोजेको थिएँ,’ निर्देशकले भने, ‘थिमसँग म्याच भएछ । सिनेमाटिक एलिमेन्ट्स र मेटाफोर राम्रो भएकाले बेस्ट मानिएको होला ।’

आना जोल निर्देशित ‘हार्ट थेरापी’ र म्यान्स बर्थासको ‘आएल अफ काप्री’ रनर–अप घोषित भए । शुक्रबारको अवार्ड वितरण समारोहमा तिनले पनि ३ हजार युरो र ट्रफी पाएका थिए । अभिनेता भिन्सेन्ट पेरेज, निर्देशक टोनी मार्सल र इकोनोमिक डिभलप्मेन्ट स्पेसलिस्ट मिरियम साइन्ज निर्णायक टोलीमा थिए । तिनले केहीअघि किरणलाई फिल्मको केही अंश सम्पादन गर्नु भनेर इमेल पनि पठाएका थिए ।

‘तर, मलाई एडिट गर्न मन लागेन’, किरण भन्छन्, ‘भर्टिकल फम्र्याट (९:१६) मा फिल्म खिच्ने चलन छैन । भर्टिकलमै खिन्चुपर्ने नियमका कारण पहिले नै धेरै झन्झट भएको थियो । त्यसैले चलाउन मानिनँ । आई एम सरी लेखेर रिप्लाई गरेको थिएँ ।’ त्यो बेला उनलाई फिल्म कमजोर भएछ भन्ने लागेको थियो । तर, अहिले सम्झन्छन्, ‘निर्देशकले कत्तिको स्ट्यान्ड लिन्छ भनेर उनीहरूले मलाई चेक गरेका थिए जस्तो लाग्यो । अब एडिट गर्‍यो भने थिम मर्छ लेखेर पठाएको थिएँ ।’ पराम्परागत फिल्म मेकिङलाई चुनौती दिन नेस्प्रेसोले भर्टिकल फम्र्याट रोजेको यसको बेवसाइटमा उल्लेख छ । अचेल जे कुरा पनि भर्टिकल ठाडो आकार भइरहेका बेला फिल्मचाहिँ होरिजेन्टल तेर्सोमा सीमित हुन आवश्यक नभएको उसको मान्यता छ । मोबाइल, युटयुबतिर भर्टिकल आकार सजिलो हुन्छ । बढीमा तीन मिनेटको फिल्म नेस्प्रेसोले छान्ने गरेको छ । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);