‘गोर्खाः बिनिथ द ब्रेभरी’ ले बेलायतबाट प्रदर्शन थाल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

‘गोर्खाः बिनिथ द ब्रेभरी’ ले बेलायतबाट प्रदर्शन थाल्दै

काठमाडौं। नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । शुक्रवारबाट बेलायतका विभिन्न सहरमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्मलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाइ छ । यो फिल्म सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ।

फिल्मले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि फिल्म प्रदर्शन हुने निर्देशक शाहीले बताए । आगामी २४ भदौबाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रूपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ ।निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिका लागि लड्ने पुर्खाहरुलाई श्रद्धाञ्जली दिन फिल्म निर्माण गरेको जानकारी दिएका छन् । त्यस्तै, निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित फिल्ममा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताए ।  २५ सेप्टेम्बर १९१५ मा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);