काठमाडौं, २९ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानुनको अभाव, कर्मचारीतन्त्रको पुरानै मानसिकता र पूर्वाधारको अभावलाई प्रदेश विकासका मुख्य चुनौतीका रुपमा औंल्याएका छन् ।
पाँचौ उदयपुर गोल्डकपको उद्घाटन गर्न शनिबार उदयपुर सदरमुकाम गाईघाट पुगेका मुख्यमन्त्री राईले प्रेस चौतारी र प्रेस सेन्टरद्धारा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो सरकारले आवश्यक कानुन र संरचना तयार गर्ने कुरामा ध्यान नदिँदा अहिले प्रदेश संचालनमा समस्या आएको बताए ।
आउँदो जेठ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउने तयारी भइरहेको बताउँदै उनले आगामी आर्थिक बर्षको लागि केन्द्रले दिएको १५ अर्बको सिलिङ ज्यादै न्यून रहेकाले थप सिलिङ वजेटका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।
मुख्यमन्त्री राईले कृषि, पर्यटन र जलस्रोतको विकासलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश नं १ को आगामी वजेट तयार गर्न लागेको बताए । आन्तरिक स्रोतको पहिचान, निजी क्षेत्रको लगानी र बाह्य लगानीलाई प्रोत्साहित गरिने उनँको भनाइ थियो ।




