विवादित १ सय ९५ नम्बरको स्तम्भतिर नेपाली टोली जान किन मानेन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विवादित १ सय ९५ नम्बरको स्तम्भतिर नेपाली टोली जान किन मानेन ?

कञ्चनपुर, २७ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सीमा विवाद फेरी बल्झिएको छ । तर, यसपटकको विवाद भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग नभएर स्थानीयबासी र नेपाली सीमा निरीक्षण टोलीबीच भएको हो ।

१३ दिनअघि एसएसबीले तारबार भत्काइदिएपछि आक्रोशित बनेका स्थानीयले सीमा क्षेत्रको निरीक्षण गरी वास्तविकता बुझ्न आग्रह गर्दै आएका थिए । उनीहरुकै आग्रहअनुसार निरीक्षणमा निस्किएका सिडिओ र प्रहरी प्रमुखसहितको टोलीमाथि स्थानियले ढुंगामुडा गरेका छन् ।

अरु बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)का कारण भागदौड हुने कञ्चनपुर पुनर्वासको सीमा क्षेत्रमा बिहीबार नेपाली प्रहरीका कारण भागदौड मच्चियो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट, नगरप्रमुख जीवनराज शर्मा, उपप्रमुख शारदा विष्टलगायतका टोली सीमा विवाद भएको क्षेत्रमा निरीक्षणका लागि निस्किएको थियो ।

जिल्लाका उच्च पदस्थ अधिकारी निरीक्षणमा आएपछि स्थानीयबासी निकै खुसी पनि भए । त्यसैले स्थानीयले निरीक्षण टोलीसँग एसएसबीले उखेलेर फालेकै ठाउँमा तारबार लाउने वातावरण मिलाइदिन र १ सय ९५ नम्बर पिलर रहेको क्षेत्रमा पनि निरीक्षण गर्न आग्रह गरे । तर, तारबारबारे निरीक्षण टोलीका कोही पनि बोल्न र विवादित १ सय ९५ नम्बरको पिलरमा जान मानेनन् ।

पुनर्वासबासीको टाउको दुखाएको १ सय ९५ पिलरमै जान निरीक्षण टोली जान नमानेपछि स्थानीयले ‘तपाईंहरु रमिता हेर्न आउनुभएको ? भन्दै नाराबाजी गर्न थाले । स्थानीयले ढुंगामुढा गर्न थाले र तनाव बढ्दै गएपछि भागदौडकै स्थिति सृजना भयो । उनीहरुले नाराबाजी चर्काएपछि हस्तक्षेप गरिएको प्रहरीले जनाएको छ ।

मुख्य विवाद चाहिँ पुनर्वास ९ को सीमा क्षेत्रमै हो । जहाँ १ सय ९५ नम्बरको पिलर छ, जुन पिलर जंगली हात्तीले नेपालतिरबाट ल्याएको एसएसबीको दाबी छ । तर, पिलर पहिले देखिनै यही स्थानमा थियो भन्ने कुरा फाउन्डेशनले नै पुष्टि गर्छ ।

भारतले करिब ५ सय मिटर उत्तरमा रहेको प्यारातालसम्मको भूमि ताकिरहेकाले १ सय ९५ पिलर हात्तीले ल्याएको दाबी गरेको पुनर्वासबासीको भनाइ छ । त्यही विवादले बैशाख १३ र १४ गते पुनर्वास क्षेत्रमा तनाव बढेको थियो ।

एसएसीबले नेपाली भूमिमा आँखा गाडेको भन्दै पुनर्वासबासीले सीमा विवाद समाधानमा गम्भीर भइदिन सरकारसँग आग्रह गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);