वीरगंज, २७ वैशाख । वीरगंजका उद्योगी सुरेश केडियाको अपहरण घटनाका मुख्य दुई आरोपी पक्राउ परेका छन् । सिमावर्ती बिहारको पूर्वी चम्पारण जिल्ला प्रहरीले केडीया अपहरण घटनाका मुख्य दुई अभियुक्त कुनाल सिंह र गोलु दुबेलाई पक्राउ गरेको हो ।
दुबै जनालाई बुधवार साँझ विहारको मुज्जफ्फरपुरबाट पक्राउ गरिएको मोतिहारी प्रहरीले जानकारी गराएको छ । मोतीहारीका एसपी उपेन्द्र शर्माका अनुसार पैगम्बरपुरका कुनाल सिंह र मुज्जफरपुर, साहेबगंज निवासी गोलुलाई एक सातादेखीको खोजीपछि पक्राउ गरिएको हो ।
वीरगंजका उद्योगी केडिया अपहरणका मुख्य योजनाकार कल्याणपुर थाना, सिसवा खरारका मिथलेश दुबे उर्फ ‘बब्लु दुबे’ थिए । फिरौती रकम बाडफाँटमा कुरा नमिलेपछि कारागारबाट गत वर्ष मई ११मा बेतिया कोर्टमा पेशीको लागी लैजाने क्रममा अदालत परिसरमै उनको हत्या गरिएको थियो । पक्राउ परेका दुबै जना माथी बब्लुको हत्याको आरोप पनि छ ।