विमल जैरु
डडेल्धुरा, २४ बैशाख । आफूसँग भएको समयको सदुपयोग गर्न सक्ने हो भने खान, लाउन र केही कमाउनकै लागि विदेश जान नपर्ने उदाहरण जुम्ला, मुगु र कालीकोटका युवाले प्रस्तुत गरेका छन् । सिजनअनुसारको खेती सकेपछिको खालीसमय घुम्ती व्यापारमा सदुपयोग गर्दै आएका उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् । अघिल्लो वर्षजस्तै यो वर्ष पनि उनीहरु घुम्ती व्यापार लिएर डडेल्धुरा पुगेका छन् ।
खासगरी जुम्ला, मुगु र कालीकोटबाट हरेक वर्ष घुम्ती व्यापारीहरु डडेल्धुरा पुग्ने गरेका छन् । बैशाखदेखि असोज महिनासम्म उनीहरु डडेल्धुराका कुनाकन्दरा घुमेर मौसमअनुसारका घरायसी समान बेच्छन् । गलैंचा, ब्ल्याङ्केट, भाँडालगायत चिसोदेखि गर्मी मौसममा आवश्यक पर्ने कपडाहरुसमेत विक्री गर्दा ६ महिनाभित्र उनीहरुले कम्तीमा दुई लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । त्यही रकमले वर्षभरीका लागि खर्च टार्ने गरेको उनीहरु बताउँछन् ।
घुम्ती व्यापारीले घरैमा कतिपय आवश्यक सामान ल्याइदिने हुँदा सर्वसाधरणको बजारसम्म पुग्न लाग्ने समय पनि बच्ने गरेको छ । बैशाखबाट डडेल्धुरा भित्रिने घुम्ती व्यापारी असोजपछि आ–आफ्नै जिल्लातिर फर्किन्छन् । जुम्ला, मुगु, कालिकोटबाट घुम्ती व्यापार गर्नेहरुमा विशेष गरी युवाहरु बढी भेटिन्छन् ।
सिजनअनुसार घरमा खेती भित्र्याएपछि बाँकी रहेको खाली समय उनीहरुले यसरी घुम्ती व्यापारबाट सदुपयोग गर्दै आएका छन् । आफूसँग रहेको समय बर्बाद हुनबाट जोगाउन सके लाउन खान र केही कमाउन विदेश जानै नपर्ने उनीहरु बताउँछन् ।