काठमाडौं, २४ बैशाख । चीनको सांघाई कन्सट्रक्सन ग्रुपले निर्माण गरिरहेको चक्रपथ विस्तार आयोजना ५ महिना पछि धकेलिने भएको छ । कम्पनीले सम्झौता अवधि बढाउनका लागि विभागमा प्रस्ताव पेश गरेपनि विभागले सम्झौता अवधि लम्ब्याउने प्रक्रियाबारे कुनै आधिकारीक धारणा दिएको छैनन् ।
कोटेश्वर–कलंकी खण्डको १० दशमलब तीन नौ किलोमिटर सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनीले तोकेको समयमा काम नसकिने भन्दै चक्रपथ विस्तार आयोजनामा समय थपको लागि पत्र पठाएसँगै चक्रपथ विस्तारको काम पछि धकेलिएको हो । चिनियाँ कम्पनीले २०७५ साउन मसान्तसम्ममा कोटेश्वर–कलंकी खण्डको सडक विस्तार गरिसक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
साउन मसान्त सम्म प्रमुख काम सक्ने भएपनि केही प्राविधिक काम सक्नको लागि ठेक्का अवधि बढाउन माग गरेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ । कम्पनीले चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ८.९ किलोमिटर सडक विस्तार गरिसकेको छ । हाल कम्पनीले बल्खु–कलंकी खण्डको साढे १ किलोमिटर सडक विस्तारको काम गरिरहेको छ ।
बल्खुतर्फ सब ग्रेडको काम चलिरहेको छ । साउनसम्ममा धुलो र धुँवाबाट मुक्ति पाउने आशमा बसेका सर्वसाधारणले थप ५ महिना सास्ती खेप्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।