रामायण सर्किटमा जोडिँदै जनकपुर | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

रामायण सर्किटमा जोडिँदै जनकपुर

janakpurdham

जनकपुर, २४ बैशाख । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा जनकपुर पनि समेटिने भएको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न रामायण सर्किट अवधारणा ल्याइएको हो ।
रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि सीतासहित अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थलको विकासमा महत्त्वपूर्ण मानिएको यो सर्किटको वैशाख २८ गते नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा उद्घाटन गर्ने तयारी छ । नेपालको राजकीय भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउँदै छन् ।

मोदीको सन् २०१४ मा भएको नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ भएको थियो । भारतले सोही एग्रिमेन्टलाई ‘रामायण सर्किट’ अन्तर्गत विस्तार गर्न खोजेको हो । ‘रामायण सर्किटअन्तर्गत मिथिला र अवधको सम्बन्धलाई विश्वव्यापी बनाउन खोजिएको हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कान्तिपुरसँग भने, ‘मिथिला र अवधको बीचमा सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार गर्नु यसको उद्देश्य हो ।’

रामायण सर्किटअन्तर्गत नेपाल र भारतका धार्मिक रुटमा विकासका पूर्वाधार निर्माण गरिनेछ । भारतले उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई अयोध्या सर्किटमा जोड्दै छ ।

अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४/१५ को बजेटमै रामायण सर्किटको अवधारणा प्रस्ताव गरेको थियो । यो सर्किटमार्फत भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थल जोड्ने भारतको योजना छ । यसमा श्रीलंकाले पनि चासो देखाएको छ ।

रामायण सर्किट योजनाअन्तर्गत रामायणकालीन स्थलमा कृषि, औद्योगीकरण, सडक, शिक्षा र पर्यटनका पूर्वाधार पनि तयार पारिनेछ । दासका अनुसार रामायण सर्किटले नेपाल, भारत र श्रीलंकाका रामायणकालीन स्थललाई जोड्नेछ । ‘राम र सीताको चरण (पाउ) जहाँ–जहाँ पुगेको छ, त्यो सबै क्षेत्रलाई समेट्ने र त्यो रूटमा पूर्वाधार विकास गर्नु नै रामायण सर्किटको लक्ष्य हो,’ मिथिला–अवध सांस्कृतिक संरक्षण परिषदका उपाध्यक्ष सुनील चौधरीले भने ।

जानकी मन्दिरका उत्तराधिकारी दासले दिएको जानकारीअनुसार रामायण सर्किटअन्तर्गत हरेक वर्ष भारतको अयोध्यामा जनकपुर महोत्सव र जनकपुरमा अयोध्या महोत्सव आयोजना गरिनेछ । महोत्सवमा राम र सीताको जीवनीमा प्रकाशित ग्रन्थ, पान्डुलिपि, हस्तशिल्प, कला, स्थानीय भोजन र वेशभूषा प्रदर्शन गरिनेछ । जनकपुर–अयोध्या दूरी ६ सय ५० किलोमिटर छ ।

भारत सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजना ‘लिभ ट्राभल कन्सेसन (एलटीसी) मा पनि नेपाललाई समावेश गरेको छ । रामायण सर्किट निर्माणपछि भारतको केन्द्रीय सरकारका करिब ६ लाख कर्मचारी एलटीसीअन्तर्गत नेपाल भ्रमणमा आउने अनुमान गरिएको छ । ‘रामायण सर्किटले भारतका सरकारी कर्मचारीलाई भ्रमणको सहुलियतसमेत दिएको छ,’ दासले भने, ‘सनातन धर्म मान्ने भारतको कुल जनसंख्याको ७० प्रतिशतलाई जनकपुर–अयोध्या घुम्न सुविधा पुग्नेछ ।’

रामायण सर्किटले हाललाई नेपाल र भारतको धार्मिकस्थललाई जोडे पनि श्रीलंका सरकार पनि ‘ग्रेटर रामायण सर्किट’ को पक्षमा छ । चैत दोस्रो साता जनकपुर आएकी नेपालका लागि श्रीलंकाली राजदूत डब्लूएस परेराले राम र सीताको सम्बन्ध श्रीलंकासँग पनि भएकाले नेपाल, भारत र श्रीलंकालाई समेटेर ग्रेटर रामायण सर्किट बनाउन प्रस्ताव गरेकी थिइन् । ‘श्रीलंकामा रावणले राज्य गरेको सहर नुवारा एलियालाई पनि रामायण सर्किटमा जोड्नुपर्छ,’ परेराले भनेकी थिइन्, ‘त्यसपछि मात्रै रामायण सर्किट पूर्ण हुन्छ ।’आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);