काठमाडौं, २२ बैशाख । सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपत्र ४२९ जना नेपाली युवाको उद्धारका लागि पहल सुरु गरेको छ । कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा स्वदेश ल्याउने तयारी भएको हो ।
कतारस्थित नेपाली दूतावासका अनुसार रोजगारीका लागि कतारको हमाव विहित हालिक नामक कम्पनी बन्द भएपछि ४२९ जना नेपाली युवा अलपत्र छन् । उनीहरू कम्पनी बन्द भएपछि कम्तीमा तीन महिना र बढीमा नौ महिनादेखि तलब नपाएर अलपत्र अवस्थामा सोही कम्पनीको क्याम्पमा बसोबास गर्दै आएका छन् ।
कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले कतारमा अलपत्र अवस्थामा रहेका नेपाली युवालाई स्वदेशमा कसरी फर्काउने भन्ने विषयमा श्रममन्त्री गोकर्णराज विष्टसँग टेलिफोनमा कुराकानी भएको जानकारी दिए । मन्त्री विष्टको निर्देशनमा दूतावासले यहाँको रोजगार तथा श्रमसँग सम्बन्धित मन्त्रीलाई भेट गरी यसबारेमा जानकारी गराइसकेको र यसबारेमा कुनै प्रतिक्रिया नआएको राजदूत कोइरालाले जानकारी दिए ।
मन्त्री विष्टले आफ्नो मातहतमा रहेका वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकद्वय भुवन आचार्य र रघुराज काफ्लेलाई बोलाएर कतारमा अलपत्र परेका युवाको उद्धारका लागि आफ्नो तहबाट तयारी गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यले मन्त्री विष्टको निर्देशनपछि कतारमा अलपत्र परेका नेपाली युवालाई रोजगारमा पठाउने वैदेशिक रोजगार व्यवसायी कम्पनी सञ्चालकलाई बोलाएर सोधपछ गरी स्वदेश ल्याउने विषयमा छलफल भएको जानकारी दिए ।
यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।