काठमाडौं, १९ बैशाख । पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ।
पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ।
पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ।
ओली र प्रचण्डबीच पद बाँडफाँडमा कुरा मिले पनि समान हैसियत, सरकारमा आलोपालो, समान हैसियतमा पार्टी एकता गर्ने विषयमा कुरा मिल्न सकेको छैन। दर्जनौंपटक भएको वार्ता र छलफलमा अडान राख्ने मात्र काम हुँदै आएको प्रचण्डका सचिवालयका एक सदस्य बताउँछन्।
ओली र प्रचण्डले पार्टी एकता हुने दाबी गर्दै आएका छन्। एकता प्रक्रियाबाट पछाडि फर्किने विकल्प नै नभएको बताए पनि पार्टी एकता गर्ने जिम्मेवारी पाएका ओली र प्रचण्डको बीचमा पछिल्लो समयमा आशंका र अडानका कारण वार्ता फलदायी हुन सकेको छैन।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।