हेटौँडा, १८ वैशाख । गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले एमालेसँगको पार्टी एकता छिट्टै हुने दावी गरेका छन् ।
गृहमन्त्री थापाले मुलुकलाई समृद्ध बनाउने सुनिश्चितता कायम गर्न पनि एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा ढिलाई गर्न नहुने स्पष्ट पारे ।
मंगलबार प्रदेश ३ को राजधानी हेटौंडामा स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै उनले मुलुकमा राजनीतिक अस्थिरता ल्याउन भईरहेको षडयन्त्रलाई निष्तेज पार्न पनि एमालेसँगको पार्टी एकतामा ढिलाई गर्न नहुनेमा जोड दिए ।
गृहमन्त्री थापाले मुलुकको शान्ति, सुरक्षालाई सदृढ बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले विभिन्न धर्म र जातको नाममा तथा समानान्तर सरकारको नाममा राजनीतिक अस्थिरता ल्याउने षडयन्त्र भईरहेको भन्दै त्यसलाई निस्तेज पार्न सरकार प्रतिवद्ध रहेको बताए ।
गृहमन्त्री थापाले सरकार अपराध नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न लागि परेको स्पष्ट पारे । उनले शान्ति सुरक्षालाई सुदृढ बनाउँदै मुलुकको विकास, निर्माणको कामलाई गति दिने बताए ।