भूकम्प पीडितको अवस्था अझै पनि दयनीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

भूकम्प पीडितको अवस्था अझै पनि दयनीय

तेजना पाण्डित

काठमाडौं, १२ वैशाख । सरकारले भूकम्पपीडितका लागि थुप्रै काम गरेको दाबी गरिरहँदा राजधानी काठमाडौँ नजिकैका पीडितको अवस्था समेत दयनीय छ । काठमाडौंसँगै जोडिएको ललितपुर जिल्लामा भूकम्पपीडित तीन वर्षयता टहरामुनि नै बस्न बाध्य छन् । उनीहरुले सरकारबाट घोषित कुनै पनि राहत प्याकेज नपाएको गुनासो गरेका छन् ।

तीन वर्षमा पाँच प्रधानमन्त्री फेरिए, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा तीनजना सीईओ फेरिए । तर, भूकम्पपीडितको अवस्थामा भने उस्तै दयनीय छ । आज पनि कतिपय पीडित टहरामुनि नै छन् भने कतिपय भूकम्पले जीर्ण बनेको घरमै जोखिम मोलेर बसिरहेका छन् ।

सरकारले भूकम्पपीडितलाई लक्षित गर्दै विभिन्न राहत प्याकेज घोषणा नगरेको भने होइन । तर, त्यसबाट सबै पीडित लाभान्वित भएका छैनन् । संयन्त्रको कमजोरीका कारण आज पनि पीडितको घाउमा मलमपट्टी लगाउन सरकार असफल नै छ ।

सरकारले घोषणा गरेको आवास अनुदान काठमाडाैँ नजिकैका पीडितले समेत नपाएको गुनासो गरेका छन् । झन् दूरदराजका पीडितको अवस्था के होला ? ललितपुरका भूकम्पपीडित केशव महर्जन सरकारले आवास अनुदानका लागि दिएको ५० हजार पाएपनि घोषित अन्य कुनै पनि राहत आफूले नपाएको बताउँछन् । भूकम्पपीडितका लागि घोषणा गरिएको २ प्रतिशत ब्याजको ऋणसमेत नपाएको उनको गुनासो छ ।

ललितपुरका कतिपय पीडितसँग लालपुर्जा छैन । लालपुर्जा भएकाले पनि पहिलो किस्तामात्र पाएका छन् । सरकारले घोषणा गरेको प्याकेज नपाएका उनीहरुले घर बनाउने त टाढैको कुरा भयो, विहान बेलुकी छाक टार्नसमेत ठूलै संघर्ष गर्नुपरेको छ ।

यसरी राजधानीसँगै जोडिएको ललितपुरका भूकम्पपीडितकै यस्तो हालत छ भने दूरदराजका पीडितको अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);