आर्सनल बसाई टुंगाउँदै वेंगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आर्सनल बसाई टुंगाउँदै वेंगर

arsene wenger

एजेन्सी, ८ बैशाख । आर्सेन वेंगर, जसले १९९६ मा प्रशिक्षका रुपमा आर्सनलको नेतृत्व लिएपछि क्लबलाई पूर्नजीवन दिए। तर पछिल्लो समय आफैले स्थापित गरेको स्तरअनुसार प्रदर्शन गर्न नसकेपछि वेंगरले शुक्रबार जारी सिजनको अन्त्यसँगै आर्सनल बसाई टुंगाउने घोषणा गरेका छन्।

२२ वर्षअघि लन्डने क्लबको जिम्मेवारी सम्हाल्दा वेंगर फुटबलमा नयाँ नाम जस्तै थिए । तर ६८ वर्षको उमेरमा क्लब छाड्दा उनी आर्सनलको इतिहासमा महान प्रशिक्षकका रुपमा दरिइसकेका छन्। उनले लन्डन बसाईमा आर्सनललाई ३ पटक इङ्लिस प्रिमियर लिग उपाधि जिताउनुका साथै कीर्तिमानी ७ पटक एफए कपको उपाधि जिताएका थिए।

१९९७–९८ को सिजनमा सुरुदेखि टोलीको नेतृत्व गर्दा पहिलो पटक नै प्रिमियर लिग र एफए कपको उपाधि जिताउन सफल वेंगरलाई सुरुआती दिनमा फुटबलका जादुगरको रुपमा लिइन्थ्यो। त्यतिबेला उत्कृष्टताको होडमा वेंगर र म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनबीच कडा प्रतिस्पर्धा थियो।

एफए कपको उपाधि जिते पनि पछिल्लो समय प्रिमियर लिगको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र चेल्सीलाई चुनौती दिन नसक्नुका साथै च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि वेंगरसँग समर्थक निराश बनेका थिए।

‘क्लबसँगको छलफल र गहन विचारपछि मैले प्रशिक्षकको जिम्मेवारीबाट पछि हट्नका लागि सिजनको अन्त्यलाई उत्तम समयका रुपमा महसुश गरेको छु,’ आर्सनलको वेभसाइटमा राखिएको वेंगरको विज्ञप्तीमा भनिएको छ, ‘यति लामो समयसम्म क्लबको सेवा गर्न पाउँदा म हर्षित छु।’

वेंगर इमिरेट्स आउँदा फर्गुसनको युनाइटेड उच्च लयमा थियो। तर वेंगरले क्लब सम्हालेलगत्तै आर्सनलले १९९८ मा प्रिमियर लिग र एफए कपको उपाधि उचाल्यो। त्यसको चार वर्षपछि आर्सनलले पूनः उक्त सफलता दो-यायो। २००३/०४ को सिजनमा आर्सनलले अराजित रहँदै प्रिमियर लिगको उपाधि जित्नु वेंगरको सबैभन्दा ठूलो सफलता हो।

आर्सनलले १९ वर्षसम्म लगातार च्याम्पियन्स लिगमा आफ्नो चुनौती पेश गरेको थियो। तर, जारी सिजन प्रिमियर लिगको छैटौं स्थानमा रहेको आर्सनल लगातार दोस्रो पटक च्याम्पियन्स लिगमा छनोट नहुने संघारमा छ।

च्याम्पियन्स लिग खेल्ने आर्सनलको एक मात्र बाटो भनेको यूरोपा लिग जित्नु हो। जहाँ आर्सनलले सेमिफाइनलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। जसका लागि वेंगरले समर्थकलाई पूर्ण साथ दिन अनुरोध गरेका छन्।

‘उच्च सफलताका लागि टोलीलाई साथ दिन अनुरोध गर्दछु,’ वेंगरले भने, ‘आर्सनललाई माया गर्नेहरुले क्लबको मुल्य मान्यतालाई जोगाउनुपर्छ। समर्थकलाई क्लबप्रतिको माया र साथ सधै कायम राख्न आग्रह गर्दछु। यस क्लबप्रति मेरोे सम्मान सधै रहिरहने छ।’

आर्सनलमा बहुमत शेयर भएका स्टेन क्रोएन्केले वेंगरप्रति सम्मान व्यक्त गरेका छन्। ‘आर्सनल र फुटबललाई माया गर्ने प्रत्येक उनीप्रति कृतज्ञ र ऋृणी छन्,’ २०११ मा क्लबको बहुमत शेयर लिएका क्रोएन्केले भने, ‘हामी आर्सनलसँग जोडिनुको मुख्य कारण वेंगरले मैदान भित्र र बाहिर दिएको सफलता नै हो। यो स्तरमा उच्च प्रदर्शनलाई लामो समयसम्म टिकाइराख्नु सहज थिएन।’

आर्सनलले वेंगरको स्थानमा सक्दो चाडो नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ। वेंगरले १९९६ को अक्टोबरमा आर्सनलको प्रशिक्षण सम्हालेका थिए। तर, उनले खेलाडीको खुराक र पिउने संस्कारलाई परिवर्तन गर्दै इङ्लिस फुटलबलमा क्रान्ती ल्याएका थिए। परिणामस्वरुप वेंगरको टोलीले युनाइटेडको बर्चस्व तोड्दै १९९७÷९८ मा लिग उपाधि उचाल्यो जसलाई ४ वर्षपछि पूनः दो-यायो।

लगातार च्याम्पियन्स लिगमा छनोट भए पनि आर्सनल युरोपेली क्लब फुटबलमा सबभन्दा ठूलो प्रतियोगिताको उपाधि उचाल्न भने सफल भएन्। २००६ मा वेंगरको युवा टोलीले फाइनल खेल्नु नै आर्सनलले पाएको सबैभन्दा ठूलो सफलता हो। उक्त फाइनलमा आर्सनल बार्सिलोनासँग २–१ ले पराजित भएको थियो।

तथापी स्टार खेलाडी भित्रयाउन वेंगरले गरेको कन्जुस्याईप्रति समर्थक निराश थिए। उल्टै वेंगरले स्टार खेलाडी थिएरी अनरी, सेस फाब्रिगास र रोविन भान पर्सीजस्ता खेलाडी बेचेपछि उनको आलोचना भएको थियो। पछिल्लो समय एलेक्स सान्चेज, मेसुट ओजिल जस्ता खेलाडीको सम्झैता नवीकरण नगर्नुका साथै तथा च्याम्पियन्स लिगमा छनोट हुन नसक्दा समर्थक झन निराश बनेका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);