काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज विहान ११ बजेका लागि बोलाइएको बैठकमा अधिकांश केन्द्रीय सदस्यले उपस्थित नहुने जानकारी गराएपछि बैठक स्थगित गरिएको सो पार्टीले जनाएको छ ।
नेता रामचन्द्र पौडेलसहितका नेताहरु काठमाडौं बाहिर रहेकाले बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैशाख ९ गते आइतबार ११ बजे बस्ने गरि बैठक पुनः आह्वान गरिएको छ ।
गत चैत ९ गतेदेखि सुरु बैठक १६ गतेसम्म चलेको थियो । चैत १६ गते केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि बैठक केही समयका लागि रोकिएको थियो । आमन्त्रितसहित कुल ८९ सदस्य केन्द्रीय समितिमा अहिलेसम्म ४३ जनाले आफ्नो धारणा राखेका छन् ।
बैठकमा खासगरी तीन तहको निर्वाचनमा पार्टीले भोगेको पराजयको समिक्षा गर्दै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।