४ वर्षमा १००० अपहरित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

४ वर्षमा १००० अपहरित

kidnapped]

एजेन्सी , २ बैशाख । संयुक्त राष्ट्रसंघले नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा हालसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का अनुसार सन् २०१३ देखि हालसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित भएका हुन् ।

लडाकुहरूले बालबालिकालाई लक्षित गरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेको पनि युनिसेफले जनाएको छ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व सुरु भएयता १ हजार ४ सयभन्दा बढी विद्यालयमा आक्रमणकारीले क्षति पुर्‍याएका छन् । करिब ९ वर्षको अवधिमा बोको हरामको आक्रमणमा परी २ हजार २ सय ९४ जना शिक्षक मारिएका युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफका अनुसार आक्रमण गरिएकामध्ये अधिकांश विद्यालयमा अझै पनि पढाइ सुरु हुनसकेको छैन । विद्यालयमा अत्यधिक क्षति भएको र सुरक्षाको प्रत्याभूति अझै नभएकाले विद्यालय फेरि खुल्न नसकेको युनिसेफले जनाएको छ । सन् २०१४ मा चिबोकको एक विद्यालयबाट २ सय ७६ जना बालिका अपहरण गरिएपछि विश्वको ध्यान त्यसतर्फ गएको थियो ।

उक्त अपहरणमा परेका बालिकामध्ये सय जना ४ वर्षपछि घर फर्केका थिए । ती घटनाले त्यस क्षेत्रमा अहिलेसम्म असुरक्षा र आतंक जारी छ भन्ने पुष्टि भएको अधिकारकर्मीले बताएका छन् । ‘बालबालिकालाई असर पर्ने गरी विद्यालयमा पटकपटक भइरहेको आक्रमण अत्यन्त निन्दनीय छ ।’ नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि मालिक फलले भने ।

सन् २००९ बाट बोको हराम आतंककारी समूहले गरेको आक्रमणमा परी दशौं हजार मानिस मारिएका छन्।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);