भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब

nagarikta_Citizenship-Card

रौतहट, २ बैशाख । प्रहरीले दुई वर्षअघि गौरबाट ठाकुरप्रसाद न्यौपानेलाई पक्राउ गर्‍यो । खानतलासी गर्दा उनको साथबाट बरामद कागजपत्रले न्यौपाने भुटानी नागरिक रहेको र उनले रौतहटबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्यो ।

झुटो विवरण पेस गरेर नागरिकता लिएको भन्दै उनीविरुद्ध मुद्दा चलाएर प्रहरीले छानबिन अगाडि बढायो । न्यौपानेले साबिकको जंगडिया गाविसमा २०६३ मा खटेको टोलीका कर्मचारीलाई १८ हजार रुपैयाँ दिएर नागरिकता लिएको बयान न्यौपानेले दिए । प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेर टोलीले वितरण गरेको अनुसूची फारमको कागजपत्र माग गर्‍यो । तर उक्त गाविसमा खटिएको टोलीले वितरण गरेको नागरिकताका सबै कागज पानी चुहिएर गलेको जवाफ प्रहरीले पायो ।

जिल्ला प्रहरी कार्यालयले रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीलाई प्रमाण नष्ट भएकोबारे छानबिन गर्न अनुरोध गर्‍यो । नागरिकता लिंदा पेस गरेको अनुसूची फारम प्रशासनबाट गायब भएको खुलेपछि ओलीले छानबिनमा चासो देखाए । उनको सरुवापछि छानबिन रोकियो ।

टोलीले त्यसबेला विभिन्न प्रलोभनमा परेर ३० भन्दा बढी भुटानी नागरिकलाई झुटो विवरणको भरमा नागरिकता वितरण गरेको पाइएको छ । ओलीपछि आएका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले कर्मचारीको बदमासी भएको बताएका थिए । नागरिकताको कागज गायब गर्नेले उन्मुक्ति नपाउने उनको भनाइ थियो । तर, अहिलेसम्म अनुसन्धान प्रक्रिया अघि बढेको छैन न त कुनै कर्मचारीमाथि कारबाही भएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);