सयौं बिघा उर्बर जमिन मरुभूमि | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

सयौं बिघा उर्बर जमिन मरुभूमि

jagga

गोपाल पोखरेल
उदयपुर, १ बैशाख । उदयपुर र सप्तरी जिल्लाको सिमानामा पर्ने त्रियुगा नदीमा निर्मित चन्द्रनहरका कारण हरेक बर्षायाममा सयौं बिघा उर्बर जमिन मरुभूमि बन्ने गरेको छ । नहरले गर्दा नदीले बगाएर ल्याउने बालुवाले निकास नपाउँदा त्रियुगा नदी आसपासको उर्बर भूमि मरुभूमिमा परिणत हुँदै आएको हो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा निर्मित नदीको सतहभन्दा अग्लो नहरले प्रत्येक साल बर्षा याममा त्रियुगा नदीबाट बगेर जाने बालुवालाई निकास हुन नदिई रोक्ने गरेको स्थानीय बताउँछन् । नहरका कारण हजारौं बिघा खेतीयोग्य जमिन बालुवाले पुरिँदा जग्गा धनी सुकुम्बासी बन्नु परेको छ । सप्तरीका किसानको हितमा नहर बने पनि नहरकै कारण उदयपुरतर्फका त्रियुगा, चौडण्डीगढी र वेलका नगरपालिकाका किसानको धान फल्ने जमिन बगरमा परिणत भएको छ । खेति योग्य जमिन बगरमा परिणत भएपछि किसानहरु कर्म थलो नै छोडेर अन्यन्त्र हिँड्नु पर्ने बाध्यता छ ।

चुरे वन विनाशसँगै वर्षातमा हुने भूक्षयले खहरेमा पानीको साटो लेदो र बालुवा बग्ने गरेको छ । लेदो र बालुवाले पुरिदै जाँदा जोगिदह, हडिया र सुन्दरपुरको हजारौं हेक्टर खेत पुरिएको छ । नहर बनाउँदा त्रियुगा नदीको बहाव नै अबरुद्ध हुनेगरी बनाईएको अग्लो बाँधका कारण त्रियुगा नदीले जोगीदह, हडिया, सुन्दरपुर बेल्टारका साथै त्रियुगा नगरपालिकाको सयौं बिघा खेतीयोग्य जमिनमा बालुवा थुपारिदिएको छ । त्रियुगा नदीले सालन्य पुर्दै जाँदा सात विगाहाभन्दा बढी खेत भएका परिवार समेत सुकुम्वासी बनेर अहिले दाउरा बेचेर गुजारा गरिरहेका छन् । कमाई खाने खेत सबै बगर बनेपछि कतिपय स्थानीय अन्यत्र विस्थापित भएका छन् ।

मालपोत कार्यालय उदयपुरको तथ्याङ्क अनुसार बिगत २६ बर्ष यता त्रियुगा नदी र चुरे क्षेत्रबाट बग्ने दर्जनौ खहरेहरुका कारण जिल्लाको ११ हजार बिघा खेतीयोग्य जमिन बगरमा परिणत भईसकेको छ । दक्षिण पश्चिमतर्फ खिइँदै गएको चुरे पहाड र उत्तरपूर्वतर्फ महाभारत पहाडको बीचमा अवस्थित उपत्यका आकारको भूबनौट रहेको त्रियुगा क्षेत्र नै उदयपुरको सबैभन्दा बढी अन्न उत्पादन हुने खेतीयोग्य जमीनको क्षेत्र मानिन्छ । कृषि उत्पादन र जैबिक बिबिधताका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने त्रियुगा उपत्यका भित्रको उर्बर भूमि संरक्षणकालागि सरकारी नीति निर्माता तथा योजनाविद्हरुको ध्यान केन्द्रित हुनुपर्ने सरोकारवाला बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);