२०७४ साल क्रिकेट र भलिबलका लागि फलदायी वर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२०७४ साल क्रिकेट र भलिबलका लागि फलदायी वर्ष

Nepali-cricket-team

किशन भण्डारी
काठमाडौं ३० चैत
। यस वर्ष नेपालले खेल क्षेत्रका लागि चुनौती र उपलब्धि दुबैको पल्ला भारी नै रह्यो । नेपाली क्रिकेटले पाएको एक दिवसीय मान्यताले समग्र खेल जगत एवं समथर्कलाई निकै हर्षित बनायो । अर्कोतिर, क्यान र एन्फाभित्रको विवादले वर्षभरी खेल क्षेत्रलाई तनावमै राख्यो ।

यसवर्ष क्रिकेट खेल अन्य खेलको तुलनामा निकै फलदायी रह्यो । खेलाडी, प्रशिक्षकको लामो प्रयासले अन्तर्राष्ट्रिय क्रिकेट संघसँग आबद्ध भएको झण्डै ३० वर्ष पछि एकदिवसिय मान्यता प्राप्त गर्‍यो । ०७४ सालमै नेपाल राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय सन्दीप लामिछाने पहिलो पटक इन्डियन प्रिमियर लिग आइपिएलजस्तो क्रिकेटको महोत्सव मानिने प्रतियोगितामा सहभागिता जनाउने मौका पाए ।

सर्वाधिक राशीको घरेलु टुर्नामेण्ट इपिएल र आइसीसीको मान्यता प्राप्त डिपिएलको दोस्रो संस्करणको आयोजना भयो, जसले खेलाडीको स्तरोन्नती र नयाँ खेलाडीलाई राष्ट्रिय मञ्चमा उदाउने अवसर सिर्जना गरेको छ ।

यता दृष्टिबिहीन क्रिकेट खेलाडीले समेत एक दिवसीय विश्वकपमा सहभागिता जनायो । महिला क्रिकेट प्रतियोगिता पनि उल्लेख्यरुपमा सञ्चालन रह्यो । समग्रमा क्रिकेटका लागि यो वर्ष उत्कृष्ट रहे पनि क्यानको विवाद नहट्नाले निलम्बन फुकुवा हुन सकेन भने करिब २० वर्ष देखि चर्चामा रहेको मुलपानी तल्लो मैदानको निर्माण कार्य पनि अपूरै रह्यो ।

२०७४ साल फुटबलका लागि पनि सन्तोषजनक नै रह्यो । फुटबलमा पनि खप्तड गोल्डकप, झापा गोल्ड कप, मदन भण्डारी स्पोर्टस गोल्डकप, बिराट गोल्डकपजस्ता राष्ट्रियस्तरको खेल भए । जसका कारण खेलाडीले आफ्नो क्षमतामा अझ विकास गर्ने मौका पाए । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन भने सफल भएनन् । अत्याआवश्यक पुर्वाधारका अभावका कारण पनि नेपाल एएफसी तालिकाको समुह एफको अन्तिम स्थानबाट आफुलाई उचाल्न असफल रह्यो ।

एन्फा पनि निलम्बन हुनबाट जोगियो । फिफाले तोकिएको समयमा आन्तरिक विवादका कारण एन्फाले निर्वाचन गर्न सकेन । तैपनि फिफाले एन्फालाई अन्तिम मौका दियो ।

यता, भलिबलका लागि यो वर्ष पनि उत्साह जनक नै रह्यो । गत वर्ष मात्रै राष्ट्रिय खेल घोषित यो खेलले राष्ट्रिय रुपमा आफ्नो लोकप्रियता बढाउने कार्य जारी राख्यो । सर्वाधिकरुपमा राष्ट्रियस्तरका पुरुष एवम् महिला भलिबल टुर्नामेण्ट भयो । राष्ट्रिय भलिबल टोलीले मकाउ र हङकङमा भएको मैत्रीपुर्ण खेलमा पनि जित हात पार्यो ।

राष्ट्रिय खेलकुद परिषदको लागि पनि यो वर्ष चुनौतीपुर्ण रह्यो । एकै वर्ष तीन वटा सरकार गठन भएपछि अलमलिएको परिषदले विभिन्न प्रतियोगिता सञ्चालन गरि नेपाल एवम् आफ्नो साख जोगाउने कार्य गर्‍यो । यसवर्ष तुलनात्मक रुपमा धेरै प्रतियोगिता सञ्चालन गर्यो । खेल क्षेत्रलाई पनि राखेपले नयाँ निती निर्माण गरि संघीय ढाँचाको खाका तयार पारी मन्त्रालयलाई बुझायो ।

समग्रमा खेल क्षेत्रमा सुधार त आयो तर विगतका वर्ष झैँ विवाद र पुवार्धारका अभावका कारण उत्कृष्ट नतिजा भने हासिल हुन सकेन । खेल र विवाद पयार्यवाची जस्तै बनेका छन् । पुर्वाधारको निर्माण कार्यमा देखिएको सुस्तताले पनि नेपाललाई कमजोर तुल्याएको छ । सरकार एवम् सम्बन्धित निकायले विवाद पन्छाई खेल र खेलाडीलाई अघि बढ्न दिने हो भने नेपालको खेलकुद भविष्य चम्किने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);