फलामको चिउरा जस्तै भयाे वाम एकता प्रक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फलामको चिउरा जस्तै भयाे वाम एकता प्रक्रिया

oli prachanda

काठमाडाैं, २९ चैत । असोज १७ गतेबाट सुरु भएको वाम एकता बहसको अझसम्म पटाक्षेप भएको छैन । एकता प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको भन्दै एमाले र माओवादीले दाबी गरेपनि अहिलेसम्म मुलभूत विषयमा गहन छलफल हुन सकेको छैन । जसले गर्दा दुई पार्टीबीचको एकता प्रक्रियाले टुंगो नपाउने हो कि भन्ने आशंकालाई बल पुर्‍याइरहेको छ ।

एमाले र माओवादीले बैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एकता गर्ने बताइरहेका छन् । यसअघि यी दुबै दलका नेताले चैत २३ गतेभित्र पार्टी एकता गर्ने बताएका थिए । तर, पार्टी एकता त टाढैको कुरा भयो, एकता प्रक्रियाका लागि गठित समिति र कार्यदलहरुले त्यो मितिभित्र प्रभावकारी छलफल समेत गरेनन् ।

यसरी पार्टी एकता प्रक्रिया जति पछि सर्दैछ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एकताबारे धारणा पनि उत्तिकै फेरिँदो छ । विगतमा भागबन्डाले एकता प्रक्रिया नरोक्ने बताउने गरेका दाहाल पछिल्लो समय ५०/५० प्रतिशतको आधारमा मात्रै पार्टी एकता हुने बताउन थालेका छन् । यसबाट पार्टी एकताको जग र सम्भावना कमजोर बनेको प्रष्टिएको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी बताउँछन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर माओवादीका मन्त्रीहरुमा देखिएको असन्तुष्टिले पनि पार्टी एकता प्रक्रिया प्रभावित पार्न सक्ने आशंकाहरु भइरहेका छन् । यसबाहेक पार्टी एकताका लागि वैचारिक, राजनीतिक तथा सांगठनिक विषय टुंग्याउन गठित कार्यदलभित्र पनि दुई पार्टीका नेताहरुबीच मतभेद कायमै छ ।

त्यही कारण तोकिएका बैठक स्थगित हुने, भइहाले पनि सामान्य छलफलमै सीमित भइरहेका छन् । यस्तै अवस्था कायम रहे बैशाख ९ मा पनि पार्टी एकता सम्भव नहुने माओवादी नेता मणि थापाको आशंका छ । सत्ताको नेतृत्वकर्ता दल एमाले भने दुई पार्टीबीच कुनै मतभेद नरहेको दाबी गर्दै बैशाख ९ मै पार्टी एकता हुने दाबी गरिरहेको छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्छौँ भनेर आलोकाँचो आश्वासन बाँडेका दुई दललाई यतिबेला एकता प्रक्रिया टुंगोमा पुर्‍याउन फलामको चिउरा चपाएझैँ भइरहेको छ । तर, उनीहरुसँग एकताको विकल्प पनि छैन । त्यसैले विकल्प नभएको कुरामा ढिला गर्दा उनीहरु नै पछि पर्ने भएकाले मिल्न बाँकी विषयलाई यथासक्य चाँडो मिलाएर पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा पुराना कम्युनिष्ट नेताहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);