विराटनगर, २६ चैत । दुई उत्कृष्ट टिम थ्रीस्टार र विभागीय टोली आर्मी पाँचाैं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार साँझ सहिद मैदानमा आमने–सामने हुँदै छन् । यी दुई टिमबीचको प्रतिस्पर्धासँगै यस वर्षको घरेलु फुटबलको सिजन सकिँदै छ ।
काठमाडौंबाहिर पहिलोपटक ‘फ्लडलाइट’ मा खेलाइएको विराट गोल्डकपको पाँचौं संस्करणलाई विशेष प्रतियोगिता मानिएको छ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख ७१ हजारसहित दुई तोला पहेंलो धातुले जलप गरिएको ट्रफी हात पार्नेछ । उपविजेताले ५ लाख ५१ हजारमा चित्त बुझाउनुपर्नेछ ।
फाइनलमा आर्मीले शारीरिक खेल र आक्रामक प्रदर्शन तथा थ्री स्टारले चुस्त टिमवर्कमा खेल पस्कने अपेक्षा गरिएको छ । आर्मीले सेमिफाइनलमा झापालाई १–० र थ्री स्टारले संकटालाई ४–० ले पन्छाउँदै उपाधिको दाबेदारी प्रस्तुत गरेका थिए । आर्मीले क्वाटरफाइनलमा पुलिस र थ्री स्टारले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङदीलाई पाखा लगाएको थिए ।
थ्री स्टार सोमबार यस सिजनमा पाँचौं उपाधिको खोजीमा खेल मैदानमा उत्रिँदा आर्मी आठांै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यस वर्ष यी दुई टिमको तीन पटकको भेटमा आर्मीले दुईपल्ट बाजी मारेको थियो । खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीले थ्री स्टारलाई २–१ र सिमरा गोल्डकपको फाइनलमा २–० ले हराएर उपाधि जितेको थियो । त्यसअघि थ्री स्टारले इटहरी गोल्डकपको सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ५–४ ले निराश बनाएको थियो ।
आर्मीले २०७४ वैशाखमा संकटालाई २–० गोलले पन्छाउँदै विशाल मेमोरियल गोल्डकप उपाधि जितेर यो वर्षको विजययात्रा सुरु गरेको थियो । यही वर्षको अन्त्यमा विराट गोल्डकप जितेर २०७४ साललाई बिदाइ गर्ने आर्मीको योजना छ ।
आर्मीका पूर्वप्रशिक्षक भएका कारण पनि उक्त टिमले प्रदर्शनमा अपनाउने रणनीतिबारे केसी जानकार छन् । निराजन खड्काको कप्तानीमा मैदानमा उत्रिने थ्री स्टारको टिममा जापानी खेलाडी ताकायुसहित विमल घर्तीमगर, बुद्ध चेम्जोङ र अफ्रिकी मूलका अजयी मार्टिन र पिटरले खेलमा प्रभाव जमाउन सक्छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।