बलात्कार न्यूनीकरण गर्न कार्ययोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

raper

खोटाङ, २६ चैत ।  बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । तीन महिना अवधिमा करणी, हिंसालगायतका अपराध बढ्नुको कारण पत्ता लगाउँदै अपराध न्यूनीकरणको उपाय खोजिने जनाइएको छ।

अपराध र रोकथाम तथा न्यूनीकरणका लागि चेतना जगाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिला तथा बालबालिकाको शिक्षामा जोड दिने, लैंगिक आधारमा हुने हिंसा तथा विभेद अन्त्यका लागि मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिने, स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तयार पारिने डिएसपी थापाले बताए।

महिला तथा बालबालिकालाई डरत्रास, धाकधम्की देखाउने र प्रेमविवाहको बहानामा जबरजस्ती करणी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। जिल्लाका सबैभन्दा बढी दिप्रुङ गाउँपालिकाको टेम्मा, साकेला गाउँपालिकाको रतन्छा र बाझेच्यानडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बलात्कारको घटना बढी हुने गरेको प्रहरी प्रतिवेदनले देखाएको छ। प्रहरीका अनुसार अधिकांश पीडित १६ देखि २५ वर्षका छन्। त्यसमध्ये पनि सबैभन्दा बढी १० वर्षदेखि २० वर्ष उमेरका बालिका तथा युवती पीडित भएको डिएसपी थापाले बताए।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ६ महिलामाथि जबरजस्ती करणी भएको र पाँचवटा जबरजस्ती करणी उद्योगको घटना दर्ता भएको थियो। यस्तै, २०७३/७४ मा बलात्कारका १३ वटा घटना र बलात्कार प्रयासका सातवटा घटना दर्ता भएकामा २०७४/०७५ मा पाँचवटा बलात्कार तथा दुई जना बलात्कार प्रयासबाट पीडित बनेको प्रहरीले जनाएको छ। पीडितमध्ये १० देखि २० वर्ष उमेर समूहका १७ जना र २० देखि २५ वर्ष उमेर समूहका ११ जना महिलामाथि यौनहिंसा भएको प्रहरीले जनाएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);