औषधी लिमिटेडद्वारा सिटामोल विक्री सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

औषधी लिमिटेडद्वारा सिटामोल विक्री सुरु

पहिलो चरणमा ७७ पैसाका दरले वीर अस्पतालले किन्यो ३० हजार चक्की, पर्सीबाट बजारमा पनि पाइने

फूलमाया आले

काठमाडौँ, २३ चैत । गत फागुनबाट सिटामोलको व्यवसायिक उत्पादन सुरु गरेकोे नेपाल औषधी लिमिटेडले आजबाट सिटामोलको विक्री सुरु गरेको छ । जीवनजल उत्पादन गरिरहेको औषधी लिमिटेडले सिटामोल उत्पादन गरी विक्रीसमेत गर्न थालेको हो ।

औषधी लिमिटेडेले पहिलो चरणमा ३० हजार चक्की ट्याब्लेट सिटामोल प्रति ट्याब्लेट ७७ पैसाका दरले वीर अस्पताललाई बेचेको हो । औषधी लिमिटिडेले अहिले ५ लाख ट्याब्लेट सिटामोल उत्पादन गरेको छ भने बाँकी ५ लाख उत्पादनको प्रक्रियामा छ ।

हाल उत्पादित ५ लाख ट्याब्लेट औषधिमध्ये ३० हजार वीर अस्पताललाई बिक्रि गरेको औषधी लिमिटेडले आइतबारबाट होलसेलर मार्फत देशभरी नै बिक्रिकालागि लैजाने जनाएको छ ।

वार्षिक ८ करोड युनिट सिटामोल उत्पादन क्षमता भएको औषधी लिमिटेडसँग १५ करोड बराबर अर्थात दोब्बर परिमाणमा बजारमा माग भएको बताइएको छ । त्यसैले औषधी लिमिटेडले आगामी आर्थिक वर्षबाट उत्पादन क्षमतामा वृद्धि गरी १३ करोड पुर्याउने योजना बनाएको छ ।

लिमिटेडले विश्व स्वास्थ्य संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जिएनपी ) अनुसार नै औषधि उत्पादन गरिएको दाबी गरेको छ । प्रयोगशाला पनि गुण तथा नापतौल नियन्त्रण विभागको मापदण्ड अनुसार नै बनाइएको उसको भनाइ छ । औषधी लिमिटेडबाट उत्पादित सिटामोल सर्वसाधरणले बजारमा प्रति ट्याब्लेट एक रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ ।

गत फागुनमा ८० हजार चक्की औषधीको परीक्षण उत्पादन सफल भएपछि लिमिटेडले बजारमा औषधी पठाउन लागेको हो । औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा औषधी लिमिटेड स्थापना भएको थियो । औषधी लिमिटेडले २०६० सालसम्म आइपुग्दा १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।

तर, विश्व स्वास्थ्य संगठनको मापदण्ड जिएमपी पूरा गर्न नसकी २०६७ सालदेखि उद्योग बन्द भएको थियो । लामो समय बन्द भएको औषधी लिमिटेड गत वर्षदेखि सञ्चालनमा आएपछि जीवनजल, गिल्सिरिङ तथा डिस्टिलरी वाटर र सिटामोल उत्पादन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);