औषधी लिमिटेडद्वारा सिटामोल विक्री सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

औषधी लिमिटेडद्वारा सिटामोल विक्री सुरु

पहिलो चरणमा ७७ पैसाका दरले वीर अस्पतालले किन्यो ३० हजार चक्की, पर्सीबाट बजारमा पनि पाइने

फूलमाया आले

काठमाडौँ, २३ चैत । गत फागुनबाट सिटामोलको व्यवसायिक उत्पादन सुरु गरेकोे नेपाल औषधी लिमिटेडले आजबाट सिटामोलको विक्री सुरु गरेको छ । जीवनजल उत्पादन गरिरहेको औषधी लिमिटेडले सिटामोल उत्पादन गरी विक्रीसमेत गर्न थालेको हो ।

औषधी लिमिटेडेले पहिलो चरणमा ३० हजार चक्की ट्याब्लेट सिटामोल प्रति ट्याब्लेट ७७ पैसाका दरले वीर अस्पताललाई बेचेको हो । औषधी लिमिटिडेले अहिले ५ लाख ट्याब्लेट सिटामोल उत्पादन गरेको छ भने बाँकी ५ लाख उत्पादनको प्रक्रियामा छ ।

हाल उत्पादित ५ लाख ट्याब्लेट औषधिमध्ये ३० हजार वीर अस्पताललाई बिक्रि गरेको औषधी लिमिटेडले आइतबारबाट होलसेलर मार्फत देशभरी नै बिक्रिकालागि लैजाने जनाएको छ ।

वार्षिक ८ करोड युनिट सिटामोल उत्पादन क्षमता भएको औषधी लिमिटेडसँग १५ करोड बराबर अर्थात दोब्बर परिमाणमा बजारमा माग भएको बताइएको छ । त्यसैले औषधी लिमिटेडले आगामी आर्थिक वर्षबाट उत्पादन क्षमतामा वृद्धि गरी १३ करोड पुर्याउने योजना बनाएको छ ।

लिमिटेडले विश्व स्वास्थ्य संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जिएनपी ) अनुसार नै औषधि उत्पादन गरिएको दाबी गरेको छ । प्रयोगशाला पनि गुण तथा नापतौल नियन्त्रण विभागको मापदण्ड अनुसार नै बनाइएको उसको भनाइ छ । औषधी लिमिटेडबाट उत्पादित सिटामोल सर्वसाधरणले बजारमा प्रति ट्याब्लेट एक रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ ।

गत फागुनमा ८० हजार चक्की औषधीको परीक्षण उत्पादन सफल भएपछि लिमिटेडले बजारमा औषधी पठाउन लागेको हो । औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा औषधी लिमिटेड स्थापना भएको थियो । औषधी लिमिटेडले २०६० सालसम्म आइपुग्दा १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।

तर, विश्व स्वास्थ्य संगठनको मापदण्ड जिएमपी पूरा गर्न नसकी २०६७ सालदेखि उद्योग बन्द भएको थियो । लामो समय बन्द भएको औषधी लिमिटेड गत वर्षदेखि सञ्चालनमा आएपछि जीवनजल, गिल्सिरिङ तथा डिस्टिलरी वाटर र सिटामोल उत्पादन गर्दै आएको छ ।