चितवनको सौराहामा वन्यजन्तु अस्पताल निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चितवनको सौराहामा वन्यजन्तु अस्पताल निर्माण हुँदै

चितवन, २२ चैत । चितवनको सौराहामा वन्यजन्तुको उपचार गर्न अस्पताल निर्माण भइरहेको छ । रत्ननगर नगरपालिका ६ सौराहामा रहेको राष्ट्रिय प्रकृति संर क्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको जग्गामा अस्पताल निर्माण भईरहेको हो ।

करिब ३ करोडको लागतमा गत वर्षदेखि बनाउन सुरु भएको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सौराहामा निर्माण भइरहेको वन्यजन्तुको अस्पताल नेपालमै पहिलो भएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिविधता संरक्षण केन्द्र सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले बताए ।

अस्पतालको अभावमा अहिले वन्यजन्तुको उपचार गर्न समस्या पर्दै आएको छ । पर्याप्त उपकरण र जनशक्ति अभावमा वन्यजन्तुको उपचार प्रभावकारी हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिविधता संरक्षण केन्द्र सौराहाका चिकित्सक तथा प्राविधिकले घाइते वा बिरामी वन्यजन्तुमा देखिने लक्षण हेरेर वन्यजन्तुको उपचार गर्दै आइरहेका छन् ।

अघिल्लो वर्षमात्रै ३० वटा जनावरको उद्धार गरेर सामान्य उपचार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । सुविधायुक्त अस्पताल निर्माण भएपछि गैँडा, बाघ, हात्तीलगायतका वन्यजन्तुको उपचार गर्न सजिलो हुने उनले बताए ।

अहिले सिमित स्रोतसाधनको बीच थोरै वन्यजन्तुको मात्रै उपचार गर्न सकिएकोले अस्पताल संचालन भएपछि एकै पटक धेरै वन्यजन्तुको उपचार गर्न सकिने पाठकको भनाइ छ ।

वन्यजन्तुको लागि अस्पताल निर्माण भएपछि राष्ट्रिय निकुञ्ज विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट चिकित्सक एवं प्राविधिकको दरबन्दी राखेर स्तरिय अस्पताल बनाउने सरोकारवालाहरुको योजना छ ।

अस्पतालको अभावमा अहिले घाईते वन्यजन्तुको उद्धार गरेर उपचार गर्न समस्या हुँदै आएको छ । एक्स रे मेसिन, ल्याबको अभावमा चिकित्सकले वन्यजन्तुको लक्षण हेरेर त्यसको उपचार गर्नुपर्ने बाध्यता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिविधता संरक्षण केन्द्रका पशु चिकित्सक डा. अमिर सडौलाले बताए ।

तोकिएकै समयमा अस्पतालको निर्माण सम्पन्न भए अबको ४ महिनामा अस्पतालबाटै वन्यजन्तुको उपचार हुनेछ । समयमा नै उचित उपचार पाए सवारीसाधनको ठक्करबाट घाइते भएका, वन्यजन्तु आपसमा जुध्दा हुने घाइते र बिभिन्न रोगको कारणले अकालमा हुने वन्यजन्तुको मृत्युको संख्या घटाउन सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);