काठमाडौं, २२ चैत । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आकांक्षा अनुसार विकास, निर्माणको कामलाई अघि बढाउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीका स्वर्गीय नेता रामनाथ ढकालबाट आफूहरुले जनताको चाहना अनुसार विकास निर्माणको कामलाई अघि बढाउन प्रेरणा लिन सक्ने बताए । बिहीबार काठमाडौंमा ढकालको स्मृति ग्रन्थको विमोचन गर्दै उनले ढकालले नेपालको विद्यार्थी आन्दोलनमा पुराएको योगदानको पनि चर्चा गरे ।
प्रधानमन्त्री ओलीले न्यायको पक्षमा लड्ने ढकालको अडान सबैका लागि प्रेरणाको स्रोत बन्ने विश्वास पनि व्यक्त गरे । ढकालको निधनबाट मुलुकले एक असाधारण योद्धालाई गुमाएको प्रधानमन्त्री ओलीको भनाई थियो । एमालेका नेता एवम् पूर्व सांसद ढकालको विक्रम संवत २०७१ साल चैत्र २२ गते निधन भएको थियो ।