२६ साउन, काठमाडौं । सरकारले खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री-वितरण गर्न रोक लगाएको छ । खेतीयोग्य जमिनलाई कित्ताकाट गरि घडेरीका रुपमा बेचविखन गर्दा उर्वर भूमि नष्ट भई खाद्यान्न अभाव हुन लागेकाले यस्तो निर्णय गर्नु परेको भूमिसुधार मन्त्री गोपाल दहितले बताए ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री दहितले यस्तो जानकारी दिएका हुन् । अबदेखि खेतीयोग्य जमिनमा खेती नै गर्नुपर्ने छ । खेती योग्य जमिन घडेरीका रुपमा किनबेच भएमा त्यस्ता जमिन पास नगर्न भूमिसुधार मन्त्रालयले मालपोत कार्यालयहरुलाई निर्देशन दिइसकेको मन्त्री दहितले बताए ।
केही वर्ष अघिदेखि उर्भर भूमि प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण गर्ने प्रचलन बढ्दै गएको थियो । जसले गर्दा जग्गा व्यापारी मालामाल भएका थिए भने खेती योग्य जमिन नष्ट हुँदै गएको छ ।




