बैतडीमा जग्गा–जमिन प्लटिङ गर्ने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैतडीमा जग्गा–जमिन प्लटिङ गर्ने क्रम बढ्यो

बैतडी, ४ माघ । खाद्य असुरक्षित जिल्ला बैतडीमा २२ हजार टनभन्दा बढी खाद्यान्न अपुग हुने गरेको छ । प्रायः खेतबारीमै व्यस्त भइरहने अधिकांश कृषकलाई तीन महिनासमेत खान पुग्दैन । तर, गाउँ–गाउँमा सडक पुगेसँगै खाद्य उपलब्धता बढेपछि बैतडीका जग्गा–जमिन प्लटिङ गर्ने क्रम बढेको छ ।

सुदूरपश्चिमको दुर्गम जिल्ला बैतडीका साविक १४ गाविस खाद्य असुरक्षित छन् । खाद्य सुरक्षाका दृष्टिले बैतडीको तल्लो स्वराड क्षेत्र जोखिममा छ । अन्य क्षेत्रमा पनि वर्षभर खान पुग्ने अन्न उत्पादन हुँदैन । पाटन फाँट, स्याडी, सलेना, पुचौंडी, गोकुलेश्वर लगायतका केही क्षेत्रमा मात्र अन्न उत्पादन राम्रो हुन्छ । तर, सडक पहुँच बढेसँगै खाद्यान्न उत्पादन हुने समथर ठाउँ पनि घडेरीका लागि प्लटिङ हुन थालेका छन् । खाद्यान्न उत्पादनमा राम्रो मानिने पुचौंडी नगरपालिकास्थित हाट फाँटमा अहिले धमाधम घरहरू बन्न थालेका छन् । भिरालो जमिनमा घर बनाएर फाँटमा खेती गर्दै आएका हाटफाँटबासीले फाँट बीचबाटै सडक खनेर बस्ती पनि सडकछेउमै सार्न थालेका छन् । महँगोमा बिक्न थालेकाले फाँटको जग्गा बेचबिखन बढेको स्थानीयले बताएका छन् ।

सडक पुगेसँगै ५ देखि ७ लाखसम्ममा घडेरी बिक्री हुन थालेपछि स्थानीय पनि बिक्री गर्न उद्यत देखिएका छन् । घरजग्गा व्यवस्थापनमा स्थानीय सरकारको उदासीनता, जनचेतनाको कमि र गरिबी पुचौंडी नगरपालिकाको खेतीयोग्य जमिन प्लटिङ हुनुको मुख्य कारण बनेको छ । पुचौंडी नगरपालिकाले भने सरकारको नीतिअनुरुप खेतीयोग्य जमिनलाई कृषिमै उपयोग गर्ने र भिरालो जमिनमा बस्ती विकास गर्ने गरी योजना बनाएर कार्यान्वयनमा ल्याइने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);