धनगढी, १७ चैत । शनिवार देखि धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) शुरु हुने भएको छ। उद्घाटन खेलमा साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन्।
डिपिएल दोस्रो संस्करणको पुर्वसन्ध्यामा शुक्रवार विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ। खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार आयोजकले ट्रफी सार्वजनिक गरेको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभागी ६ वटै टीमका कप्तानहरुले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे।
प्रतियोगितामा सहभागी साबिक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी हुन भने कञ्चनपुर युनाइटेडको टोली विनोद भण्डारीको नेतृत्वमा छ। त्यस्तै सिवाइसी अत्तरीयालाई सुवाश खकुरेलले कप्तानका रुपमा नेतृत्व प्रदान गर्नेछन् भने राष्ट्रिय टोलीको उपकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं गोल्डेन्सको नेतृत्व लिएका छन्। यसैगरी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विराटनगर किंग्सको नेतृत्व गर्नेछन्।
ट्रफी सार्वजनिक कार्यक्रममा वोल्दै ६ वटै टीमका कप्तानहरुले धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटको विकासमा योगदान गरिरहेको बताएका छन। नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्बाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिताले नेपाली राष्ट्रिय क्रिकेट टोली बलियो बनाउन सहयोग गर्ने राष्ट्रिय टोलीका कप्तान पारसले बताए। डिपिएलको आयोजनाले नेपालमा क्रिकेट खेलको विकास गर्न पनि सहयोग पुग्ने उनको भनाई थियो। टोलीका कप्तानले पनि यो प्रतियोगिताले नेपालको क्रिकेटको विकासमा ठूलो योगदान पुगिरहेको बताए ।
डिपिएलको तयारी पूरा भएपछि यहाँ चहल–पहल र रौनक बढेको छ। मैदानमा पिच निर्माण, अस्थायी प्यारापिट निर्माण लगायत आवश्यक सवै तयारी सकिएका छन्। लिगमा सहभागी हुने सबै टोलीका खेलाडीहरु धनगढी पुगिसकेका छन्। दोस्रो संस्करणमा थपिएका नयाँ विशेषताहरु हेर्न पनि दर्शक र क्रिकेटप्रेमीहरु आतुर देखिएका छन्।
डिपिएलको दोस्रो संस्करणलाई शनिबार दिउँसो युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्ने छन्।
उद्घाटन खेलमा आमने–सामने हुने तयारीमा रहेका साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्स दुवैले जितका लागि खेल्ने बताएका छन्। टीम धनगढीका कप्तान सोमपाल कामीले घरेलु टोली भएका कारण आफूहरुलाई दर्शकको राम्रो साथ पाइने बताए । ‘हामी खेल जित्ने विश्वासका लिएका छौं,’ उनले भने।
काठमाडौं गोल्डेन्स पनि उद्घाटन खेल जितेर सुखद सुरुआतको योजनामा छ। टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडी फिट भएकोले आफूहरु जितका लागि सक्षम रहेको दावी गरे।
‘हाम्रो टोलीमा सबै खेलाडी पूर्ण रुपमा फिट छन्। त्यसैले हामी जितका लागि विश्वस्त छौं,’ उनले भने।
प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। तेस्रो हुने टोलीलाई तीन र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।