तेजना पण्डित
काठमाडौं, १० चैत । बिदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधन चलाउन सरकारले रोक लगाएपनि सरोकरवालाले अटेरी गरेका छन् । गृह मन्त्रालयको निर्देशनअनुसार अघिल्लो शनिबार ८२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले आज पनि ४४ सवारी साधन नियन्त्रणमा लिएको हो ।
सरकारी सवारी साधनको दुरुपयोग हुने क्रम बढेपछि सरकारले बिदाको दिन बिना पास सेतो नम्बर प्लेटका सवारी नचलाउन सचेत गराएको थियो । तर, सरकारलाई सरोकारवालाले अटेरी गरेको पाइएको छ ।
अघिल्लो शनिबार अर्थात चैत ३ गते काठमाडौँ उपत्यकाबाट ८२ वटा सेतो प्लेटका सवारी नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले त्यसको एकसातापछि शनिबार पुनः ४४ वटा सवारी नियन्त्रणमा लिएको छ । चेकिङका क्रममा ४९ सवारी साधनसँग पास भएकाले प्रहरीले छाडेको थियो ।
सरकारी गाडी दुरुपयोग हुने क्रम रोक्न सरकारले थालेको प्रयासमा सरकारसम्बद्ध कर्मचारीले नै असहयोग गरेको पाइएको हो ।
ट्राफिक महाशाखाले बिदाका दिनमा बिना पास चलाएका सरकारी गाडीहरुलाई के कस्ता कार्बाही गर्ने भन्नेबारे स्पष्ट नियम नबनेकाले समातिएका सवारी साधन सम्बन्धित निकायमा बुझाइने बताएको छ ।
सरकारी सवारी दुरुपयोग गर्नेलाई गरिने कार्बाहीको व्यवस्था गर्नेसम्बन्धी प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका सह सचिवको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सो समितिले आफ्नो प्रतिवेदन बुझाएपछि कार्बाहीसम्बन्धी नियम कार्यान्वयनमा ल्याइने महाशाखाले जनाएको छ ।