बाजुरा कारागारका कैदीबन्दीको जीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाजुरा कारागारका कैदीबन्दीको जीवन कष्टकर

bajura karagar

बाजुरा, १० चैत । आवश्यक भौतिक पूर्वाधार नहुँदा बाजुरा कारागारका कैदीबन्दी कष्टकर जीवन विताइरहेका छन् । २५ जनाको क्षमता भएको जीर्ण कारागार भवनमा ३१ जना कैदी राखिएको छ । खाना र शौचालयकोसमेत समस्या भएको कैदीबन्दीहरुको गुनासो छ ।

विक्रम संवत २०३९ सालमा बनेको बाजुरा कारागार कार्यालय ३५ वर्ष वितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । २५ जनाको क्षमता भएको भवनमा ३१ जना कैदीबन्दी राखिएको छ । त्यसमाथि भवन जीर्ण बन्दा कैदीबन्दी कष्टकर जीवन विताइरहेका छन् । कारागार प्रशासनका अनुसर उक्त भवनमा हाल कर्तव्य ज्यान मुद्दामा १० र चार पुर्पक्ष थुनुवा गरी १४ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् ।

त्यस्तै जबर्जस्ती करणी मुद्दामा आठ कैदी र तीन पुर्पक्ष थुनुवा गरी ११ जना रहेका छन् भने ज्यान मार्ने उद्योगमा एक, ओसार–पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक गरी ३१ जना कैदी रहेको कारगार प्रशासनको भनाइ छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदी राख्दा खाना, शौचालय लगायत विभिन्न समस्या भोग्न बाध्य भएको कैदी बन्दीहरुको भनाइ छ ।

उनीहरुले जिर्ण कारागारमा कष्टपूर्ण तवरले राख्नुभन्दा कैदीहरुलाई विकास निर्माणको काममा लगाउन सुझाव दिएका छन् । आफूहरु हरेक मुद्दा लागेर जेल आए पनि काम गर्नसक्ने क्षमता भएका कैदीहरुलाई देश निर्माण अभियानमा लगाउनुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरुले कारागारमै सिपमुलक तालिम दिएर आयआर्जनको वातावरण बनाउन माग गरे पनि कारागार प्रशासनले ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरुले टेलिफोन सुविधा नहुँदा आफन्तसँग सम्पर्क गर्न पनि महिनौं पर्खनुपरेको गुनासो गरेका छन् ।

त्यसो त कैदीबन्दीको सुरक्षाका लागि खटिएको कारागार सुरक्षा गार्डको भवन पनि जिर्ण अवस्थामा छ । कैदीवन्दीको सुरक्षाका लागि २० जनाको दरवन्दी भएपनि प्रयाप्त मात्रामा सुरक्षाकर्मी छैनन् । आवश्यक कर्मचारी र भौतिक पूर्वाधार नहुँदा समस्या भएको जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख नन्दसिंह कार्कीको भनाइ छ ।

अपराध गरेपछि सजाय भोग्नै पर्छ । तर, यसो भन्दैमा आधारभूत आवश्यकताबाट नै बञ्चित गर्नु जायज होइन । बरु कैदी बन्दीले भनेजस्तै सुरक्षा निगरानीमा उनीहरुलाई विकास निर्माणको कामममा लगाउन सकियो भने देश निर्माण अभियानमा सहयोग पुग्नेथियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);