‘हेड इन्जुरी’ कम गर्न दुवैलाई हेल्मेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘हेड इन्जुरी’ कम गर्न दुवैलाई हेल्मेट

bike

काठमाडौँ, ६ चैत । मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने ‘हेड इन्जुरी’ टाउकामा लाग्ने चोटमा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरूले बताएका छन् ।
मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा. राजीव झा बताउँछन् । ‘मोटरसाइकल चढ्ने सबैले उपयुक्त ढंगले हेल्मेट लगाए मोटरसाइकल दुर्घटनाबाट हुने हेड इन्जुरीमा ८० प्रतिशतसम्म कम गर्न सकिने तथ्यांकबाट देखिन्छ,’ उनले भने ।

मोटरसाइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन् । महानगरीय प्रहरी डीआईजी गणेश केसीका अनुसार काठमाडौं मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ । मोटरसाइकल पछाडि बस्नेले हेल्मेट नलगाउँदा हेड इन्जुरी र दुर्घटनामा हुने क्षतिसमेत बर्सेनि बढ्दो रहेको पनि उनले बताए । टाउको जोगाउनभन्दा पनि ट्राफिक प्रहरीसँग जोगिन हेल्मेट लगाउने भएकाले कमजोर, अनुपयुक्त, टाउकाको बचाउ गर्न नसक्ने हेल्मेट लगाउने तथा हेल्मेटको फित्तासमेत नबाँध्ने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ । हेल्मेट लगाउने तर यसको फित्ता नबाँध्ने वा अनुपयुक्त हेल्मेट लगाउँदासमेत हेड इन्जुरी हुने गरेको प्रशस्त घटना रहेको डा. झा औंल्याउँछन् ।

मोटरसाइकल पछाडि बसेकालाई अगाडि के भइरहेको छ भन्ने थाहा नहुने र सामान्य झड्का वा दुर्घटनामा समेत उछिट्टिएर हेड इन्जुरी भएर मृत्यु हुने गरेको डा. झा बताउँछन् । उनले हाल मादक पदार्थ सेवनमा कडाइ भए पनि हेड इन्जुरी भएकामध्ये ६० प्रतिशतले मदिरा सेवन गरेको पाइएको बताए । यसको कारण खोल्दै उनले भने, ‘चलाउने व्यक्तिले मदिरा नखाए पनि रक्सी खाएर पछाडि बसेका मानिस सामान्य दुर्घटना वा झड्का पर्दासमेत उछिट्टिएर हेड इन्जुरी हुने गरेको देखिएको छ ।’ मदिरा सेवन गरेको व्यक्तिले मोटरसाइकल पछाडि बसेर पनि यात्रा गर्नु जोखिमपूर्ण हुने बताउँछन् ।

ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय बिनाहेल्मेट मोटरसाइकल चढ्न नपाउने नियम कडाइसाथ लागू गर्नुपर्ने बताउँछन् । ‘यस्तो गर्ने हो भने हेड इन्जुरीमा निकै कमी आउनेछ,’ उनले भने । राजाको प्रत्यक्ष शासनमा स्वास्थ्यमन्त्री हुँदा स्नायु शल्यचिकित्सक डा. उपेन्द्र देवकोटाले मोटरसाइकलमा पछाडि बस्नेले समेत हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । ‘त्यतिबेला हेल्मेटको बिक्री बढाउन यस्तो नियम ल्याएसमेत भनियो,’ डा. उपाध्यायले भने, ‘त्यसले निकै कमी ल्याएको थियो ।’

वास्तविक तथ्यांक उपलब्ध नभए पनि त्यतिबेला पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ५–६ महिना लागू गर्दा हेड इन्जुरीमा करिब ५० प्रतिशत कमी आएको अनुभव डा. झाले सुनाए । शाही शासनविरुद्धको आन्दोलन सफल भएपछि पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम हटेको थियो । ‘त्यतिखेर सबैले खुलापन महसुस गरे । हेल्मेटको अनिवार्यतालाई राज्यले वा प्रहरीले लादेको अनुभव गर्दै पालना गर्न छोडियो,’ डीआईजी केसीले भने । गुणस्तरीय हेल्मेटले कुनै पनि दुर्घटनामा टाउकामा लाग्ने चोटपटक ७० प्रतिशत कम गर्न सक्ने तथा ज्यान बाँच्ने सम्भावना ५० प्रतिशत हुने डाक्टरहरू बताउँछन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);