तीन वर्षमा ६३ हजार सडक दुर्घटना, राष्ट्रिय लक्ष्य एकातिर, सरकारको ध्यान अर्कोतिर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तीन वर्षमा ६३ हजार सडक दुर्घटना, राष्ट्रिय लक्ष्य एकातिर, सरकारको ध्यान अर्कोतिर

काठमाडौं । पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालमा ६३ हजार २६८ वटा सडक दुर्घटना रेकर्ड भएका छन् ।  नेपाल प्रहरीकाे तथ्यांकअनुसार ती दुर्घटनामा सात हजार ५५३ जनाको मृत्यु भएको छ । यस अवधिमा दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या २२ हजार ५६७ रहेको छ । 

बितेका साढे १० वर्ष (आर्थिक वर्ष २०६८-६९ देखि २०७८-७९ माघ मसान्तसम्म)मा सडक दुर्घटनामा परी नेपालमा २३ हजार ११२ जनाको मृत्यु भएको छ । पछिल्लो साढे १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक महिना औसतमा १८१.९८ जनाको मृत्युको कारण सडक दुर्घटना बनेको छ । अर्थात् औसतमा प्रत्येक दिन नेपालमा ६ जनाको मृत्यु सडक दुर्घटनामा परी हुने गरेको छ । 

यो तथ्यांकले देखाउँछ नेपालमा सडक दुर्घटनाको भयावह स्थिति 

‘दुर्घटनाको प्रमुख कारण सवारी साधनको गति हो । तीव्र गतिकै कारण नेपालमा धेरै दुर्घटना हुने गरेका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले भने, ‘जुन देशमा जहाज, गाडी कुनै निर्धारित समयमा उड्दैनन् र गुड्दैनन, त्यही देशमा सबैलाई हतार हुने गरेको छ ।’ 

नेपालमा बढ्दो दुर्घटना र जनधनको क्षतिले स्पष्ट देखाउँछ दुर्घटना र क्षति न्यूनीकरणमा सरकारले प्रयाप्त ध्यान दिएको छैन । संयुक्त राष्ट्रसंघले ‘युएन डिकेड अफ एक्सन फर रोड सेफ्टी (२०११–२०२०)’ कार्यक्रम ल्याएको थियो । कार्यक्रमको लक्ष्य सन् २०२० सम्म सडक दुर्घटनाबाट हुने क्षति ५० प्रतिशत घटाउने रहेको थियो । 

नेपालले राष्ट्रसंघको उक्त कार्यक्रम कार्यान्वयन गर्न सन् २०१३ मा अनुमोदन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कार्यान्वयनमा जिम्मेवारी लिएको थियो । मन्त्रालयले त्यसपछि ‘नेपाल सडक-सुरक्षा कार्ययोजना २०६९-२०७७’ ल्याएको थियो । 

यसका अलावा नेपालले राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोगको एसिया प्यासिफिक कार्यालयले सन् २००६ मा घोषणा गरेको सडक सुरक्षासम्बन्धी घोषणपत्रमा सन् २०१२ मा हस्ताक्षर गरेको थियो । ती कार्यक्रमअन्तर्गत नेपालले सडक दुर्घटनाको हताहतीलाई सन् २०१५ सम्ममा ३५ प्रतिशत र २०२० सम्ममा ५० प्रतिशतले कमी ल्याउने लक्ष्य राखिएको थियो । 

सडक जोखिम न्यूनीकरणलाई समेत समेटी गृह मन्त्रालयले २०७५ सालमा ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना सन् २०१८-२०३०’ सार्वजनिक गरेको थियो । कार्ययोजनामा सडक दुर्घटनामा हुने मृत्युको संख्यालाई सन् २०२० सम्म एक हजार ७००, सन् २०२५ सम्म एक हजार २०० र सन् २०३० सम्म ७०० सयमा झार्ने उल्लेख छ । 

गृहको कार्ययोजनाअनुसार सडक दुर्घटनामा घाइते हुनेको संख्या सन् २०२० सम्म ११ हजार, सन् २०२५ सम्मा आठ हजार र सन् २०३० सम्म पाँच हजारमा झार्नुपर्ने हुन्छ । सडक जोखिम न्यूनीकरण गर्न नेपालले बनाएका कार्यक्रम र कार्ययोजनाअनुसार काम भने हुन सकेको छैन । लक्ष्यलाई पूरा गर्नेभन्दा पनि लक्ष्यलाई झन् टाढा बनाउने कार्य भइरहेको तथ्यांकले देखाउँछ । 

‘ट्राफिकसम्बन्धी जनचेतना, तालिम, वैज्ञानिक तरिकाले सडकको निर्माण हुन नसक्दा दुर्घटना बढ्दै गएका छन्, जसले मानवीय क्षति पनि बढाएको छ,’ पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुले भने । 

पछिल्ला तथ्यांकले नेपालमा दुर्घटनाको संख्या घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १३ हजार ३६६, २०७६/७७ मा १५ हजार ५५९, २०७७/७८ मा २० हजार ६४० र २०७८/७९ को माघसम्मा १३ हजार ७०३ वटा सडक दुर्घटना रेकर्ड भएका छन् । विगत तीन वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/७६ को तलुनामा २०७६/७७ मा १४.१ प्रतिशत र २०७६/७७ को तुलनामा २०७७्७८ मा २४.६२ प्रतिशतले सडक दुर्घटना बढेको छ । 

नेपालमा दुर्घटनाबाट हुने मृत्यु संख्या पनि घटेको छैन । आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ७८९, २०७६/७७ मा दुई हजार २५१, २०७७/७८ मा दुई हाजर ५१३ र २०७८/७९ को माघसम्ममा एक हजार ६३८ जनाको मृत्यु सडक दुर्घटनामा भएको छ । नेपालले आफूले बनाएको कार्यक्रम र कार्ययोजनाअनुसार न दुर्घटना संख्या घटाउन सकेको छ, न मृत्यु कम गर्न । दुर्घटनामा हुने घाइतेको संख्या पनि घटेको छैन । कार्यक्रम र कार्ययोजनाविपरीत दुर्घटना र मृत्युको संख्या बढ्दो छ । 

कहाँ हुन्छ बढी दुर्घटना ? 

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् । 

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात महिनामा काठमाडौं उपत्यकामा ६ हजार २१, प्रदेश १ मा दुई हजार १७८, मधेश प्रदेशमा तीन हजार ४९, बागमती प्रदेशमा  (काठमाडौं उपत्यका बाहेक) ९८०, गण्डकी प्रदेशमा २४०, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा २३८ र सुदूरपश्चिम प्रदेशमा ३२७ वटा दुर्घटना भएका छन् । 

कहाँ जान्छ सबैभन्दा बढीको ज्यान ? 

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सबैभन्दा बढी सवारीसाधन दुर्घटना बागमती प्रदेशमा भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ । सो अवधिमा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३०१, मधेस प्रदेशमा ३३९, बागमती प्रदेशमा (काठमाडौं उपत्यकाबाहेक) २२३, गण्डकी प्रदेशमा १४४, लुम्बिनी प्रदेशमा ३०४, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा ११२ जनाले ज्यान गुमाएका छन् । 

कुन सवारी साधन पर्छ सबैभन्दा बढी दुर्घटनामा ? 

चालू आर्थिक वर्षको सुरुवाती सात महिनामा सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्यांकले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारीसाधनमा ११ हजार २६७ वटा मोटरसाइकल, एक हजार ३७५ ट्रक तथा ट्यांकर, ४१९ वटा टिपर, ४० वटा डोजर, लोडर र एक्स्काभेटर, एक हजार ४३६ वटा बस, २१८ वटा माइक्रो, पाँच हजार ९४ जिप तथा कार, ५४६ वटा ट्रयाक्टर, ६८० टेम्पो र बाँकी अन्य सवारीसाधन छन् । 

कुन समयमा हुन्छ बढी दुर्घटना ? 

प्रहरीको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा हुने गरेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा पाँच हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् । प्रहरीका अनुसार सो अवधिमा बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म ३ हजार १८०, साँझ ६ देखि राति १२ बजेसम्मको समयमा चार हजार ४६३ र राति १२ देखि बिहान ६ बजेसम्मकाे समयमा ६२० वटा दुर्घटना भएका छन् । 

यी हुन् दुर्घटनाका प्रमुख कारण 

नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकका कारण ११ हजार ९३६ वटा सवारी दुर्घटना भएका छन् । सोही अवधिमा सवारीसाधनको कारण ३६४, यात्रुको कारण ५१९, सडकको अवस्थाका कारण ७५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस वर्ष तीव्र गतिका कारण ६ हजार २५८ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्यांकले देखाउँछ । ओभरटेक गर्दा ४८६, मादक पदार्थ सेवन गरेका कारण ७२९, यात्रुले बाटो काट्दा ४३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५७७ वटा दुर्घटना भएको पाइएको छ ।  

किन घटेन दुर्घटना ? 

पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार नेपालमा दुर्घटना नघट्नुको पहिलो कारण हो- ट्राफिकसम्बन्धी जनचेतनाको अभाव । नेपालका धेरैजसो चालकले सवारी अनुमतिपत्र लिन मात्र ट्राफिकसम्बन्धी ज्ञान लिने गरेको बुझाई उनको छ । 

‘हाम्रो देशमा धेरैको बुझाई हेलमेट लगाउने भनेको ट्राफिकले समाउँछ भनेर भन्ने छ । जबसम्म यस्तो बुझाई फेरिँदैन दुर्घटना कम हुँदैन,’ उनले भने । विद्यालयदेखि बालबालिकालाई ट्राफिक नियमको बारेमा जानकारी दिनुपर्ने उनको सुझाव छ । 

जरिवाना कम हुँदा पनि दुर्घटनाको संख्या बढेको उनको बुझाई छ । उनले थप स्पष्ट पारे, ‘जापानमा दुर्घटना गरे नाै लाखसम्म जरिवाना गरिन्छ । चीनमा ६ महिनासम्म जेल पठाइन्छ तर हाम्रोमा एक हजार जरिवाना तिरे उम्किन्छ । के मान्छेको मूल्य एक हजार मात्र हो ?’ 

सडक दुर्घटना कम गर्न भाडाका सवारीसाधन, निजी सवारीसाधन, टिपरलगायतका सवारीसाधनलाई छुट्टाछुट्टै नियम बनाउनुपर्ने उनी बताउँछन् । यसका अलावा सवारी चालकहरूलाई तालिमको पनि व्यवस्था गर्नुपर्ने हाछेथुको भनाइ छ । 

‘नेपालमा सडक दुर्घटना गराउने अर्को कारण सडक हुन् । मान्छे हिँड्ने बाटोमा डोजर लगाएर मोटरबाटो बनाइन्छ । मोटरबाटो निर्माण गर्दा वैज्ञानिक आधारमा बनाउनुपर्छ । सकेसम्म कम घुम्ती भएको हुनुपर्छ,’ हाछेथुले भने । 

सवारीसाधन कन्डिसनमा नहुँदा पनि दुर्घटना हुने गरेको उनी बताउँछन् । सयम समयमा सवारीसाधनको मर्मत सम्भार गरी कन्डिसनमा राखे दुर्घटना कम हुने उनको ठम्याइँ छ । चालक र साहुमा धेरै पैसा कमाउने मोहले पनि सडक दुर्घटना निम्त्याउने गरेको छ । छिटो चलाए एक टिप बढी चलाउन पाइन्छ र पैसा पनि आउँछ भन्ने सोच धेरै चालक र साहुमा रहेको उनी बताउँछन् । यसले गर्दा तीव्र गतिमा सवारी साधन चलाइन्छ र दुर्घटना हुनेगर्छ ।

छेथुको बुझाईमा नेपालमा सडक दुर्घटना बढी हुनुको अर्को कारण हो- युवा चालक । उनका अनुसार नेपालमा धेरै सवारी चालकहरू ३० वर्षभन्दामुनिका छन् । यो उमेर समूहमा जोश बढी हुने हुँदा सवारीसाधनको गति तिव्र हुनेगर्छ, जसले दुर्घटनाको जोखिम बढाउने गर्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);