बिदामा चलाइएका सरकारी गाडी त्यसै छाडिए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिदामा चलाइएका सरकारी गाडी त्यसै छाडिए

sarkari gadi

काठमाडौं, ६ चैत । सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणका लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् । मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन नियन्त्रणमा लिएको थियो । तर, कारबाही गर्न स्पष्ट कानुन नभएको भन्दै आइतबार नै छाडेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्रका विभिन्न स्थानबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिएको थियो । महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नियन्त्रणमा लिइएका सवारीसाधन विनाकारबाही छाडिएको बताए । उनले भने, ‘शनिबार ८२ सवारीसाधन नियन्त्रणमा लियौँ, २४ घन्टासम्म होल्ड गर्‍यौँ । तर, भोलिपल्ट सबै सवारीसाधन त्यतिकै छाडिदियौँ ।’ उनका अनुसार त्यसरी सञ्चालन हुने सवारीलाई कारबाही गर्न स्पष्ट कानुन छैन, न त निर्देशिका नै बनेको छ ।

महाशाखाले शनिबार चक्रपथभित्र चलाइएका सवारीसाधन मात्रै नियन्त्रणमा लिएको थियो । कारबाही गर्ने कुनै कानुन नभए पनि आगामी दिनमा पनि बिदामा सरकारी सवारीसधान चलाए नियन्त्रणमा लिने महाशाखाले जनाएको छ । महाशाखाका एसएसपी रञ्जितकारले भने, ‘यो अभियान अब प्रत्येक बिदाका दिन चल्नेछ । विनाअनुमति चलाइएका सबै सरकारी गाडी नियन्त्रणमा लिएर २४ घन्टा राख्छौँ ।’

कार्यविधि छैन प्रवक्ता
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिन चलाइने सरकारी सवारीसाधन सञ्चालनसम्बन्धी कार्यविधि नभएको बताए । उनले भने, ‘बिदाका दिन कस्ता सवारीसाधन चल्ने, कस्ता नचल्ने भन्ने कार्यविधि हामीसँग छैन । जबर्जस्ती चलाइएका सवारीसाधनलाई कारबाही गर्ने कानुन पनि छैन ।’ तर, मन्त्रालयले सरकारी बिदाका दिन चलाइने सवारीसाधन नियन्त्रण भने गर्ने भनेको उनले बताए । उनले सरकारी सवारीसाधन सञ्चालनसम्बन्धी कार्यविधि बनाउनुपर्ने बताए ।

गृह मन्त्रालयले सरकारी नम्बरप्लेटलाई निजी नम्बरप्लेटमा बदलेर जबर्जस्ती चलाइएका सरकारी गाडी पनि जफत गर्ने निर्णय गरेको छ । गृहले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी नम्बरप्लेटलाई निजी नम्बरप्लेटमा बदलेर चलाइएका सरकारी गाडीको नम्बरप्लेट यथावस्थामै बदल्न निर्देशन दिएको छ । गृहका प्रवक्ता सुवेदीले भने, ‘अवैध रूपमा चलाइएका गाडी अहिले नियन्त्रणमा लिँदै गइन्छ । कानुन पनि बन्दै जान्छ ।’आजको नयाँ पत्रिकामा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);