अनुप तिवारी
पर्सा, ५ चैत । पर्साको जिल्ला अदालत अगाडीको सडक भत्किएको २ वर्ष बितिसक्यो । सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढेको छ । दुई वर्षसम्म पनि सडक नबन्दा स्थानीय र सवारी चालकलाई सास्ती भएको हो । सडक बनाउन जनप्रतिनिधिले चासो नदिएको स्थानीयको गुनासो छ ।
वीरगन्जमा ढल निकास, सडक बिस्तार र फोहरमैला व्यवस्थापन गर्न पावर हाउसदेखि सिर्सिया खोला सम्मको सडक भत्काइएको थियो । सो सडक खण्ड भत्किएको ६ महिनामा बनाइसक्ने सम्झौता भएको थियो ।
तर सम्झौता भएको दुई बर्षसम्म पनि सडकको स्तरोन्नति भएको छैन । सडक निर्माण नहुँदा स्थानीय र सवारी चाललाई सास्ती भएको छ ।
जनप्रतिनिधिले निर्वाचनको समयमा सो सडक खण्ड ६ महिनाभित्र बनाइसक्ने प्रतिबद्धता जनाएका थिए । तर निर्वाचित भएको एक वर्ष पुग्न लाग्दा पनि जनप्रतिनिधिले लथालिङ्ग भएको सडक बनाउन चाँसो नदिएको पीडितहरुको गुनासो छ।
मझौला शहर एकिकृत शहरी वातावरण सुधार आयोजना नामकरण गरिएको सो परियोजना सन् २०१६ मा सक्ने गरि २०११ मा सम्झौता भएको थियो । तर सरकारी निकायबीच समन्यव नहुँदा समयमा निर्माण हुन नसकेको हो ।
सडक नबन्दा दुर्घटनाको जोखिम बढेको र सडक अस्तव्यस्त भएको भन्दै स्थानीयले तत्काल भत्किएको सडक बनाउन माग गर्दै आयोजनाको कार्यालयमा दैनिक धाउने गरेका छन् ।