काठमाडौं, ३ चैत । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बाब्वेको क्वेक्वेस्थित मैदानमा अपरान्ह सवा एक बजे सुरु हुनेछ ।
एकदिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्स अहिलेसम्म चार पटक आमने सामने भएकामा दुवैले दुई दुई खेल जितेका छन् । जारी विश्वकप छनोट प्रतियोगितामा राम्रो ब्याटिङ गर्न नसकेको नेदरल्यान्ड्सको बलिङ राम्रो छ ।
अझ आजको मैदान स्पिनरका लागि उपयुक्त भएको र उसका देर्वे हाते स्पिनर राइलोफ भान डेर मर्वेले प्रतियोगितामा १२ विकेट लिइसकेकाले उनी नेपालका लागि चुनौति हुन सक्छन् ।
हङकङ र पपुवा न्युगिनी विरुद्धका पछिल्ला दुई खेल जितेको नेपाल आत्मविश्वासी देखिएको छ ।




