विशेष शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

विशेष शोक प्रस्ताव पारित

sok prastab

काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमबार भएको विमान दुर्घटनाका घाइतको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । विमान दुर्घटनाबारे प्रतिनिधिसभा बैठक र राष्ट्रियसभालाई शुक्रबार जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जाँचबुझका लागि गठित समितिको प्रतिवेदनका आधारमा आउँदा दिनमा घटना न्यूनीकरणका लागि सरकारले सुझाव कार्यान्वयन गर्ने पनि बताए ।

उनले दुर्घटनापछिको उद्धार तथा उपचारमा राज्यसंयन्त्र तथा अन्य निकायबाट भएको तदरुकताको प्रशंसा गरे । प्रधानमन्त्रीले भने , ‘दुर्घटनाका घाइतेको उपचारमा कुनै पनि कमी हुने छैन । घटनाबारे अनुसन्धान र सुझावका लागि जाँचबुझ समिति गठन भएको छ । भावी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले प्रतिवेदनलाई कार्यान्वयन गर्नेछ । ’

प्रधानमन्त्री ओलीले घटनामा परी नेपाली र विदेशी नागरिकसहित ४९ जनाको ज्यान गएको सदनलाई जानकारी दिए । उनले घटनाबारे आफूले तत्कालै बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमी हुन नदिने जानकारी गराएको पनि बताए । गत सोमबार बङ्गलादेशको ढाकाबाट काठमाडौँ आएको यूएस बङ्गला विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा ४९ जनाको निधन भएको थियो ।

निधन हुनेमा २२ नेपाली, २६ बङ्गलादेशी र १ चिनियाँ नागरिक छन् । यस्तै, २२ जना घाइते भएका थिए । घाइतेमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । १७ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । सरकारले घटना छानविनका लागि पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिसकेको छ ।

विशेष शोक प्रस्ताव पारित
यसैबीच प्रतिनिधिसभाको शुक्रबारको बैठकले विमान दुर्घटनामा मृत्यु भएका स्वेदशी तथा विदेशी नागरिकको सम्झनामा विशेष शोक प्रस्ताव पारित गरेको छ । सभाले दिवंगतहरूको चिर शान्तिको कामना गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । मृतकको सम्झनामा मौन धारण गरिएको थियो ।

तथ्याङ्कमा फरक
यसैबीच प्रतिनिधिसभामा प्रधानमन्त्रीले गरेको सम्बोधन र सदनले पारित गरेको शोक प्रस्तावमा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या फरक परेको छ । प्रधानमन्त्रीले दुर्घटनामा ४९ जनाको मृत्यु भएको जानकारी सदनलाई गराए । तर, संसद्मा सभामुख कृष्णबहादुर महराले पेश गरेको विशेष शोक प्रस्तावमा ५१ जनाको मृत्यु भएको उल्लेख छ । केही दिनअघि गृह मन्त्रालयले समेत ५१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो । तर, भोलिपल्टै मन्त्रालयले उक्त तथ्याङ्क त्रृटिपूर्ण रहेको भन्दै ४९ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);