काठमाडौं, २ चैत : नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकका १३ जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नियन्त्रणमा लिएको छ । अन्य वित्तीय संस्थासँग मर्जर प्रक्रियाका क्रममा भएको आर्थिक घोटालामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीका अनुसार एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि एनसिसीका ऋण अधिकृतसहितका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।
एनसीसी बैंक र अन्य वित्तीय संस्थाहरु एक आपसमा मर्ज हुने क्रममा पनि आर्थिक घोटला भएको राष्ट्र बैंकको ठहर छ । करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको निष्कर्ष निकाल्दै राष्ट्र बैकले ब्युरोलाई अनुसन्धान गर्न भनेको थियो । कर्मचारीहरुले गरेका अनियमितताका सम्बन्धमा थप अध्ययन भइरहेको कार्कीले जानकारी दिए ।
एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएका हुन् । यही मर्जका क्रममा पनि आर्थिक अनियमितता भएको आशंका छ । यसबाहेक कतिपय कर्जा प्रवाहमा पनि चलखेल भएको सीबीआईको भनाइ छ । यसअघि पनि अदालतले समेत एपेक्सको हिसाबकिताबसमेत अलग राख्न निर्देशन दिइसकेको छ ।