कण्टेनर छुटाउन आयातकर्ताको आलटाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कण्टेनर छुटाउन आयातकर्ताको आलटाल

वीरगञ्ज , ३० फागुन । सरकारले भन्सार मूल्याङ्कनमा कडाइ गरेपछि आयातकर्ताले नाकामा आइसकेको मालसामान छुटाएका छैनन् । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार मूल्याङ्कनमा सूचना मूल्यलाई मान्यता दिन भन्सार कार्यालयहरूलाई निर्देशन दिएपछि आयातकर्ताले मालसामान नाकामै रोकेर राखेका हुन् ।

वीरगञ्जको सुक्खा बन्दरगाहमा आयातित मालसामान बोकेका ५ सय ६० कण्टेनर रोकिएको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिले बतायो । आयातकर्ताले पेश गरेको बिलबीजकलाई भन्सारले मान्यता नदिएपछि आयातकर्ताले मालसामान नै नछुटाएको भन्सारका अधिकारीले बताए ।

बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख धनबहादुर बडुवालले आयातकर्ताले मूल्याङ्कन बढी भएको भन्दै बन्दरगाहमा आइसकेको मालसामानसमेत छुटाउन नमानेको बताए । ‘भन्सारको सूचना मूल्य वास्तविक मूल्यभन्दा अत्यन्तै बढी भएको भन्दै आयातकर्ताले आलटाल गरेका छन्,’ निमित्त प्रमुख बडुवालले आर्थिक अभियानसित भने, ‘आयातकर्ताले छुटाउन नमानेपछि मालसामान बन्दरगाहमै अड्किएको छ ।’

प्रत्येक ३ महीनामा भन्सार विभागले भन्सार मूल्याङ्कन पुनरवलोकन गरेर सूचना मूल्य सार्वजनिक गर्छ । अन्तरराष्ट्रिय बजारको मूल्यमा उतारचढाव आउँदा त्यो सूचना मूल्य असान्दर्भिक हुने भन्सारका अधिकारीहरू नै बताउँछन् । पछिल्लो समय अर्थमन्त्रीले आयातकर्ताले पेश गरेको बीलबिजकको सट्टा भन्सारको सन्दर्भ पुस्तिकालाई मान्यता दिन निर्देशन दिएपछि समस्या भएको हो ।

तेस्रो मुलुकबाट आयात भएको मरीच, हार्डवेयरका सामान, स्टेशनरीलगायत मालसामान छुटाउन आयातकर्ताले अनाकानी गरेको भन्सार प्रमुख बडुवालले बताए । आयातकर्ताले भियतनामबाट मगाएको मरीचको अहिलेको अन्तरराष्ट्रिय बजार मूल्य प्रतिमेटिकटन ३ हजार १ सयदेखि ४ हजार अमेरिकी डलरसम्म छ । तर, भन्सारको सन्दर्भ मूल्य ७ हजार डलर छ ।

भन्सार अधिकारीहरूले सन्दर्भ मूल्यमा अड्डी लिएपछि आयातकर्ताले बन्दरगाहमा आइसकेको मालसामानसमेत छुटाएका छैनन् । बन्दरगाहबाट विगत १० दिनदेखि यस्ता सामान जाँचपास भएको छैन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव माधव राजपालले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा मूल्याङ्कन हुनुपर्ने बताए । ‘अहिले इण्टरनेटबाटै बजार मूल्य सहजै थाहा पाउन सकिन्छ । यस्तोमा सूचना मूल्यको अड्डी लिनु व्यावहारिक छैन,’ सचिव राजपालको तर्क छ ।

यसअघि भन्सार अधिकारीहरूले सन्दर्भ मूल्य जे भए पनि आयातकर्ताले पेश गरेको बील मूल्य चित्त नबुझे अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा जाँचपास गर्दैआएका थिए । अर्थमन्त्रीको निर्देशनपछि कर्मचारीले बील मूल्यलाई मान्न छोडेकाले समस्या भएको हो । आयातकर्ताको बीलमा आशङ्का भए त्यसमा १० प्रतिशत थपेर सरकार आफैले किन्न सक्ने प्रावधान पनि छ ।

आयातकर्ताले अर्थमन्त्रीको निर्देशन अव्यावहारिक भएको भन्दै सच्याउन माग गरेका छन् । भन्सार प्रमुख बडुवालले आयातकर्ताको मागलाई विभागमा पठाइएको बताए । उनले यो समस्याको चाँडै समाधान निस्किने दाबीसमेत गरे ।

बन्दरगाहमा रोकिएकामध्ये ४ सय कण्टेनर मालसामानमा मूल्याङ्कनको समस्या रहेको दाबी भन्सार स्रोतले गरेको छ । १ सय ६० कण्टेनरमा स्पन्ज आइरन छ । बन्दरगाह कण्टेनरले भरिएपछि व्यवस्थापनमा समस्या भइरहेको हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए । आयातकर्ताले कण्टेनर नउठाएकाले नयाँ कण्टेनर अनलोडमा समस्या भइरहेको गुनासो चौधरीको छ । ‘क्षमताभन्दा बढी कण्टेनर थुप्रिएका छन् । यसले व्यवस्थापनमा कठिनाइ भइरहेको छ,’ उनले भने ।

केही दिन यस्तै अवस्था रहेमा कोलकाता रेलवेले र्‍याकमा प्रतिबन्ध लगाउन सक्ने टर्मिनलका अधिकारीहरूको आशङ्का छ । अहिले कण्टेनरका १२, फलामका १० र मलखादका ४ रेल बाटोमा रहेको र एउटा कोलकातामा लोड भइरहेको कार्यकारी अधिकृत चौधरीले बताए । वीरगञ्जमा कण्टनेरको चाप बढेसँगै कोलकातामा समेत ५ सय कण्टेनर पुगिसकेको टर्मिनलले बतायो ।

यो खबर आजको अभियान दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);