काठमाडौं, २९ फागुन । गृहमन्त्री रामबहादुर थापाले जनतालाई सुरक्षित यात्रा गराउने खालको सुनिश्चित वातावरण बनाउन यातायात क्षेत्रमा आवद्ध निकायलाई कडा निर्देशन दिएका छन् । देशका विभिन्न भागमा सडक दुर्घटनाका कारण धेरैले ज्यान गुमाउनुपरेको भन्दै गृहमन्त्री थापाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा आवद्ध निकायसँग जनतालाई सुरक्षित यात्रा गराउने सुनिश्चित वातावरण बनाउन सचेत गराएका हुन् ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा यातायात क्षेत्रका पदाधिकारीसँग सामूहिक भेटगरी गृहमन्त्री थापाले सडक दूर्घटना हुन नदिन मातहतका निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिए । गृहमन्त्री थापाले सडक दुर्घटनाबाट नागरिकको ज्यान जान नदिन उच्चस्तरीय अनुगमन संयन्त्र बनाउने घोषणा पनि गरे । आवश्यक अनुगमनको अभावमा पनि सडक दुर्घटना बढेको उनको ठहर छ ।
त्यस अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वाधारको अभावमा पनि सडक दुर्घटना हुने गरेको भन्दै त्यसको आवश्यक व्यवस्थापन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । उनले नागरिकको सुरक्षित यात्रालाई सुनिश्चित गराउन सबैको सहयोगको आवश्यक रहेको बताए ।