बोक्सी आरोप प्रकरण : यस्तो थियो झाँक्रीको वितण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बोक्सी आरोप प्रकरण : यस्तो थियो झाँक्रीको वितण्डा

boksi aarop ma kutpit

कैलाली, २८ फागुन । केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्।

टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ। आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन्। त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्रमित पारेका छन्।

उपचार गर्छु भन्दै त्यही त्रिशूल तताएर डामेपछि स्थानीय ६५ वर्षीय जितबहादुर डगौरा घाइते भएको स्थानीयले बताए। रामबहादुरले आँगनमै रहेको गोठलाई बिरामी भर्ना गर्ने घर बनाएका छन्। टाढा टाढाबाट आउने मानिस भोलेबाबाले दिएको प्रसादले सबै रोग निको हुने विश्वासका कारण त्यहाँ पुग्ने गरेका छन्।

भोलेबाबाले सबै रोग निको गर्ने भएकाले त्यहाँ आएको भजनी नगरपालिकाकी सुन्दरी चौधरीले बताइन्। उनले बिरामी राख्ने गोठआसपासको ठाउँ चामलका बोराले भरिएका छन्। घरअगाडिको आँगनमा उनले यसअघि पनि राधाजस्तै थुप्रै किशोरीमाथि यस्तै अत्याचार गरेको स्थानीय नरेश चौधरीले बताए। ‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ। विभिन्न गाउँमा रहेका पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन्’, चौधरीले भने।

पीडित राधाको परिवार सुकुम्बासी हो। उनीहरूसँग अर्काको जग्गामा बनेको सानो घर मात्रै छ। राधाका बुबा लौटन र आमा जोखनीदेवी भगतले छोरीमाथि अत्याचार भएको देखेर पनि केही गर्न सकेनन्। छोरीमाथिको अत्याचार हेरेर बस्न लौटन बाध्य भएका थिए। ‘तर त्यो समाजमा बचाउने मान्छे कोही नभएकाले उनको बोली नै खुलेन’, राधाका कक्षा ८ पढ्ने भाइ रोशनले भने।

अधियाँ वा मजदुरी त्यो परिवारकोे दिनचर्या हो। भोलेबाबाले गाउँका सुन्दर किशोरीलाई आफ्नो पूजामा बोलाउने र नआएपछि बोक्सी आरोपमा कुट्ने गरेको स्थानीयले बताएका छन्। ‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ। तिनै पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन्।’
नरेश चौधरी, स्थानीय

रामबहादुरको घरमा भजनी, जोशीपुर, खैलाडलगायत ठाउँबाट दैनिक चार पाँच सय मानिस आउन थालेपछि उनको दिनकै कमाइ १० हजारभन्दा बढी भइरहेको थियो भने चामल पनि उत्तिकै संकलन भइरहेको थियो। उनले गाउँका किशोरीलाई बोलाएर, काम्न लगाएर पार्वती बनाउने गरेका थिए। पक्राउ परेका किस्मती चौधरी, स्मारिका चौधरीजस्ता नाम नखुलेका धेरै पार्वती भोलेबाबाले बनाएको पनि स्थानीयले बताएका छन्।

भोलेबाबाले बनाएका पार्वतीले महिलासँग अश्लील बोल्ने, महिलाको संवेदनशील अंग चलाउने र उनीहरूलाई भरिएको सभामा उत्तेजनामा ल्याउने प्रयास गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्। रामबहादुरका बुबा ज्ञानीप्रसाद, आमा सम्झना र भाइ सागर पनि बिरामी आएका बेला भोलेबाबा भन्दै काम्ने गरेको स्थानीय नरेश कुँवरले बताए।

देउकलिया गाउँका धेरै जना अहिले पनि रामबहादुरमा देउता रहेको दाबी गर्छन्। त्यो गाउँका मान्छेलाई रामबहादुरले यतिसम्म अन्धविश्वासी बनाइदिएका छन् कि उनीहरू कम्तीमा पनि उपचारका लागि १५ दिन लगातार आउन बाध्य भएको स्थानीय खेम सापकोटाले बताए।

कुटपिटमा संलग्न दुई महिला पक्राउ

राधा चौधरीमाथि कुटपिटमा संलग्न थप दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। घोडाघोडी नगरपालिका सुखडकी स्मारिका चौधरी र देउकलियाकै किस्मती चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

किस्मती भोलेबाबा भनिने रामबहादुरसँगै राधालाई कुटपिटमा संलग्न महिला हुन् भने स्मारिका आफू भोलेबाबाकी पार्वती भएको भन्दै प्रायः बिरामीलाई कुटपिट गर्न अघि सर्ने गर्थिन्। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ। रामबहादुर र किस्मतीविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको प्रहरीले जनाएको छ। दुवै जनालाई कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ। स्मारिका चौधरीलाई भने सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

उजुरी दर्ता नगर्ने प्रहरी निलम्बित

बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी राधालाई लिएर जाँदा पनि उजुरी दर्ता नगर्ने इलाका प्रहरी कार्यालय सुखडका सइ दिनेश बिष्टलाई निलम्बन गरिएको छ। प्रदेश प्रहरी प्रमुख एआईजी माधव नेपालले उनलाई यति जघन्य अपराधको मुद्दा दर्तामा लापरबाही गरेको भन्दै निलम्बन गरिएको बताए।

जघन्य आपराधिक घटना हुँदा पनि घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले घटना मिलाउन खोजेको भन्दै एमालेले छानबिन समिति गठन गरेको छ। जिल्ला सचिवालय सदस्य विमलकुमार जोशी संयोजक, छाया थापा र केवालाल चौधरी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको एमाले जिल्ला सचिव रणबहादुर चन्दले जानकारी दिए। चौधरी एमालेबाट जितेका मेयर हुन्।

राधाको उपचार खर्च सरकारले व्यहोर्ने

बोक्सी आरोपमा कुटपिट गरिएकी राधाको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट आइतबार जारी विज्ञप्तिमा उपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने उल्लेख गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सी आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।’

घटनाको सर्वत्र विरोध

बोक्सी आरोपमा किशोरीमाथि भएको निर्घात कुटपिटको घटनाप्रति विभिन्न राजनीतिक दल एवं संघ संस्थाले घोर भत्र्सना एवं निन्दा गरेका छन्। विवेकशील साझा पार्टी प्रदेश ७ ले विज्ञप्ति निकाल्दै घटनाको निन्दा गरेको छ। प्रदेश ७ संयोजक गोपाल हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अत्यन्त लज्जाजनक घटनाका सबै दोषीलाई कारबाही गर्नुका साथै घटना ढाकछोप गर्न खोज्ने जनप्रतिनिधिलाई पनि छानबिन दायरामा ल्याउन माग गरिएको छ।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष लक्षीराम आचार्यले जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य नाइके रामबहादुर र पार्वती भनिने किस्मतीलाई मानवताविरोधी अपराधमा मुद्दा चलाएर हदैसम्म कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।

मुक्त कमलरी विकास मञ्च जिल्ला कार्यसमिति कैलालीले पनि विज्ञप्ति निकाल्दै घटनाको निन्दा गरेको छ। दलित महिला अधिकार मञ्च, थर्ड एलायन्स, आरडीएन, ग्राम विकास तथा अनुसन्धान केन्द्र, मर्सिकोर नेपाल, याक नेपाल, महिला मानवअधिकार रक्षक नेपाल, एडजस्ट नेपाल, पत्रकार महिला र अन्तरपार्टी महिला सञ्जालले पनि संयुक्त विज्ञप्ति प्रकाशन गर्दै दोषीमाथि कडा कारबाही माग गरेको छ। आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);