काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका युवा नेताले पनि सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता बन्ने होडबाजीमा नलाग्न सुझाव दिएका छन् । कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी सुधारिएको हेर्न चाहेको भए संसदीय दलको नेता बन्न देउवाले प्रस्तुत गरेको दाबी फिर्ता लिनुपर्ने बताए ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले संसदीय दलको नेता सर्वसम्मतिमा चयन गर्ने वातावरण बनाउन देउवालाई सुझाव पनि दिए । नेता पौडेलले निर्वाचनको समीक्षा समेत गर्न तयार नभएको भन्दै सभापति देउवाप्रति आक्रोश व्यक्त गरे । उनले आफूहरु महाधिवेशनको माध्यामबाट पार्टी नेतृत्व परिवर्तन गर्न लागि परेको समेत स्पष्ट पारे ।