दक्षिण कोरियामा मन्त्रिपरिषद् पुनर्गठन, गुप्तचर निकायको प्रमुखमा पहिलोपटक महिला नियुक्त गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

दक्षिण कोरियामा मन्त्रिपरिषद् पुनर्गठन, गुप्तचर निकायको प्रमुखमा पहिलोपटक महिला नियुक्त गर्ने तयारी

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिने उद्देश्यसहित मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार सोमवार गरिएको मध्यमस्तरको मन्त्रिपरिषद् पुनर्गठनमा विदेश नीति तथा राष्ट्रिय सुरक्षा क्षेत्रका प्रमुख जिम्मेवारीमा नयाँ अनुहारलाई अघि सारिएको छ । पूर्वन्यायमन्त्री काङ कुम सिललाई राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) को प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिएको छ । संसदीय प्रक्रिया पूरा भएमा उहाँ दक्षिण कोरियाको गुप्तचर निकायको प्रमुख बन्ने पहिलो महिला हुनुहुनेछ । उक्त निकायको पूर्ववर्ती संस्था कोरियन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी स्थापना भएयता पहिलोपटक महिलाले नेतृत्व गर्ने अवसर पाउन लागेकी हुन् । त्यस्तै, राष्ट्रपतिको राष्ट्रिय सुरक्षा उपसल्लाहकार लिम उङ सुनलाई विदेशमन्त्रीका लागि सिफारिस गरिएको छ । पूर्ववरिष्ठ राजनीतिक मामिला सचिव होङ इक प्योलाई एकीकरणमन्त्रीको जिम्मेवारी दिन प्रस्ताव गरिएको छ । सत्तारुढ डेमोक्रेटिक पार्टीका सांसद हान जुन होलाई आन्तरिक मामिला तथा सुरक्षा मन्त्री र राष्ट्रपति कार्यालयकी प्रमुख प्रवक्ता काङ यु जङलाई संस्कृति, खेलकुद तथा पर्यटनमन्त्रीका लागि सिफारिस गरिएको छ । राष्ट्रपति कार्यालयका प्रमुख सचिव लिम क्वाङ ह्योनले नयाँ नेतृत्वमार्फत सरकारी कामकारबाहीमा नयाँ ऊर्जा थप्ने, नीतिगत निर्णयको कार्यान्वयन तीव्र बनाउने र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम हासिल गर्ने उद्देश्यले पुनर्गठन गरिएको बताउनु भयो ।  सिफारिस गरिएका पाँचै जनाले आधिकारिक नियुक्ति पाउनुअघि संसदीय सुनुवाइ प्रक्रिया पार गर्नुपर्नेछ । संसदीय सुनुवाइपछि मात्रै उनीहरूको नियुक्ति औपचारिक रूपमा हुनेछ ।

Leave a Reply