फुटबललाई अर्को जापानी सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

फुटबललाई अर्को जापानी सहयोग

nepal-japan

काठमाडौं, १७ फागुन । नेपाली फुटबलको विकासमा विगत केही वर्षयता जापानी सहयोग कोसेढुंगा साबित हुँदै आएको छ । दुई वर्षअघि एन्फाको टेक्निकल डाइरेक्टर चियाकी ताकेदाको नियुक्तिबाट सुरु भएको जापानसँग नेपालको सहकार्यले बुधबार नयाँ आयाम लिएको छ । जापानी राजदूतावासले एन्फा मुख्यालयको स्तरोन्नतिका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हाल १७ सय दर्शक क्षमताको एस्ट्रो टर्फ मैदान छ । उक्त मैदानमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रूम, दर्शकका लागि व्यवस्थित शौचालयलगायतका सुविधा नहुँदा एन्फालाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न समस्या भएको थियो । जापानी दूतावासको सहयोगसँगै एन्फाले ती लगायत अन्य संरचना निर्माण गर्ने एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।

‘जापानले धेरै क्षेत्रबाट नेपाललाई सहयोग गरिरहेको छ । अब मैदानको स्तरोन्नतिले हामीलाई फुटबल आयोजनामा निकै सहज हुनेछ । निरन्तर सहयोगका लागि हामी जापानप्रति आभारी छौं,’ श्रेष्ठले भने । उनले प्राप्त सहयोग रकम सदुपयोग गर्दै एन्फाले प्राविधिक समितिको कार्यकक्ष तथा मिडिया बक्स पनि निर्माण गर्ने जानकारी गराए ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपाली फुटबल विकासमा भूमिका खेल्न पाउँदा खुसी व्यक्त गरे । ‘दुई वर्षदेखि नेपाली फुटबलमा जापानले पुर्‍याएको भूमिकाको नतिजा मैदानमा देखिएको छ । नेपाली फुटबलको प्रदर्शन दिनानुदिन सुध्रिँदै गएकामा हामी खुसी छौं । फुटबलले राष्ट्रका जनतालाई एकताबद्ध बनाउन सहयोग गर्नेछ । यस्तो सुखद कार्यमा सहयोग गर्न पाउँदा हामी प्रोत्साहित भएका छौं,’उनले थपे ।

यसअघि जापानिज फुटबल संघ (जेएफए) को सहयोगमा नेपालमा विशेष गोलरक्षक–प्रशिक्षक कोर्स तथा नेपाली यू–१५ टोलीले श्रीलंकामा जापानकै यू–१५ राष्ट्रिय टोलीसम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । जापान सरकारकै सहयोगमा नेपाली राष्ट्रिय टोली एसियन कप छनोट तयारी गर्न १० दिने मैत्रीपूर्ण खेल तथा प्रशिक्षण क्याम्पमा जापान पुगेको थियो । यसबाहेक राष्ट्रिय टोली तथा उमेर समूहको टोलीको प्रशिक्षणमा जेएफएले खेल सामग्री सहयोग गर्दै आएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);