फागुन २२ देखि एयर एसियाको उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

फागुन २२ देखि एयर एसियाको उडान बन्द

काठमाडौं, १७ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले फागुन २२ गतेदेखि मलेसियाको निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ। एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

एयर एसियाले पुस २४ गते फेब्रुअरी २८ भित्र सबै बक्यौता चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो। तर, प्रतिबद्धताअनुसार एयरलाइन्सले बक्यौता नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार उडान बन्द गराउँदै बक्यौता दाखिल गर्न लागेको ठाकुरले जानकारी दिए।

प्राधिकरणले कार्यालयलाई मार्च ३ देखि उडान बन्द गराउन सहमति दिएको थियो। तर, विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय दिँदै मार्च ६ बाट उडान बन्द गराउन लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए।

कार्यालयले लगातार सार्वजनिक बिदा परेका कारण तीन दिन थप गरिएको जनाइएको छ। अब कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई सूचना गराउँदै उडान बन्द गर्नेे ठाकुरले अन्नपूर्णसँग बताए। एयर एसियाले विमानस्थल सेवा शुल्क बापत २० करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्नेछ।

एयर एसियाले पुस २४ गते पनि १० करोड रुपैयाँ दाखिल गर्ने र बाँकी रकम मासिक तीन करोड रुपैयाँको दरले किस्तामा तिर्दै जाने बताएको थियो। ‘तर, फेरि सोही दिन दुई करोड रुपैयाँ बुझाउँदै एयसियाले फेब्रुअरी २८ मा बाँकी बक्यौता रकम दाखिला गर्ने गरी लिखित सम्झौता गरेको थियो’, ठाकुरले भने। विमानस्थल कार्यालयले गत मंसिर मसान्तसम्म बक्यौता तिर्न पहिलोपटक सूचना प्रकाशन गरेको थियो।

पहिलो सूचना प्रकाशन भएको समयमा एयर एसियाले करिब नौ करोड रुपैयाँ दाखिल गरे पनि २३ करोड बाँकी थियो। तीन साताको अवधिमा केही थोरै बक्यौता भएकाले रकम दाखिल गरे पनि सबैभन्दा बढी एयर एसियाले अन्तिम दिन पुस २३ मात्रै दुई करोड रुपैयाँ तिरेको थियो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);