चीनले स्वदेशमै विकास गरेको १० टन वर्गको विद्युतीय व्यावसायिक विमानले पहिलोपटक मानवसहितको सफल परीक्षण उडान गरेको छ । शनिवार चीनको पूर्वी शान्दोङ प्रान्तस्थित बिन्झाउमा ‘सीई–२५ए’ नामक उक्त विमानले पहिलो मानवसहितको बौद्धिक परीक्षण उडान पूरा गरेको हो । चीनको व्यावसायिक विमान निर्माण कम्पनी (कोम्याक) ले विकास गरेको उक्त विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । परीक्षण उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र सबै प्राविधिक सूचक अपेक्षाअनुसार रहेको जनाइएको छ । सीई–२५ए विमानले एकपटकमा १९ जनासम्म यात्रु बोक्न सक्ने क्षमता राख्छ। यसको उडान गति प्रतिघण्टा ३०० किलोमिटर रहेको छ भने एकपटकमा करिव ४०० किलोमिटरसम्म दूरी पार गर्नसक्छ । विद्युतीय प्रविधिमा आधारित यस विमानको सफल मानवसहितको परीक्षणलाई चीनको व्यावसायिक हवाई यातायात तथा विद्युतीय विमान विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस प्रविधिको विकासले भविष्यमा छोटो दूरीका हवाई यात्रालाई थप सहज बनाउन तथा परम्परागत इन्धनमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




