काठमाडौँ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ ।काठमाडौं फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उहाँले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता गरेको र सन् २०२६ मै त्यसलाई पूरा गर्न सफल भएको बताउनुभएको हो । उहाँले तीनदिने फेस्टिभलले विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको उल्लेख गर्नुभयो । बसन्तपुरबाट शुरु भएको फेस्टिभल बौद्धनाथमा समापन गर्न पाउँदा खुशी लागेको उहाँको भनाइ छ । फेस्टिभलको पहिलो दिन वर्षाका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भएपनि कलाकार, स्वयंसेवक, महानगरपालिका परिवार र नगर प्रहरीको सहयोगले कार्यक्रम सफल भएको उहाँले बताउनु भयो । विशेषगरी वर्षाका बीच पनि फिल्म हेर्न उत्साहित वरिष्ठ कलाकारहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो । फेस्टिभल सफल बनाउन सहयोग गर्ने फिल्म विकास बोर्ड, एलायन्स फ्रान्सेज, अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अन्य साझेदार संस्थालाई पनि उहाँले धन्यवाद दिनुभयो । त्यस्तै, फेस्टिभलका निर्देशक तथा आयोजक टोलीले गरेको मेहनतको प्रशंसा गर्दै उहाँले राति १० बजे शुरु हुने बैठक बिहान २ देखि ३ बजेसम्म चल्ने गरेको अनुभव सुनाउनु भयो । नेपाली चलचित्र र कथालाई अन्तर्राष्ट्रिय समुदायमाझ पु¥याउनु फेस्टिभलको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै डंगोलले नेपालले विश्वका कथा हेर्ने र सुन्ने मात्र नभई विश्वले पनि नेपाली कथा हेर्ने र सुन्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । फेस्टिभलको औपचारिक समापन भए पनि नेपाली कथा र चलचित्रलाई विश्वमाझ पु¥याउने यात्रा निरन्तर रहने उहाँको भनाइ छ ।




