इजरायलमा हुन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पुनः निर्वाचित गराउन खुला समर्थन जनाउनुभएको छ । निर्वाचन हुन केवल नौ दिन बाँकी रहँदा आईतवार ट्रम्पले सामाजिक सञ्जालमार्फत नेतान्याहुलाई आफ्नो ‘पूर्ण र समग्र समर्थन’ रहेको घोषणा गर्नुभएको हो । आगामी अक्टोबर २७ मा इजरायलमा हुन गइरहेको संसदीय निर्वाचनलाई लक्षित गर्दै ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत नेतान्याहुको पक्षमा मत माग्नुभएको छ । ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणपछिको पहिलो राष्ट्रिय निर्वाचनको मुखमा ट्रम्पको यस्तो समर्थन सार्वजनिक भएको हो । ट्रम्पले नेतान्याहुलाई एक ‘महान योद्धा प्रधानमन्त्री’ को संज्ञा दिँदै इरानविरुद्धको लडाइँमा उनी अमेरिकाको अपरिहार्य साझेदार भएको उल्लेख गर्नुभयो । यदि इजरायलमा नेतान्याहु बाहेक अरू कुनै नेता सत्तामा आएमा इरानसँग जुध्ने सम्पूर्ण जिम्मेवारी अमेरिकाकै काँधमा आउन सक्ने चेतावनीसमेत उहाँले दिनुभयो ।
ट्रम्पले लेख्नुभएको छ, ‘यदि इजरायलमा गलत नेता निर्वाचित भए, जुन बिबी (नेतान्याहु) बाहेक जोकोही हुनसक्छ, अमेरिकाले यो जिम्मेवारी आफैं उठाउनुपर्ने हुन्छ, जुन म चाहन्नँ ।’
ट्रम्पको समर्थन सार्वजनिक भएलगत्तै प्रधानमन्त्री नेतान्याहुले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आभार व्यक्त गर्नुभयो । यता, अमेरिकी समाचार संस्था ‘एक्सिओस’ सँगको टेलिफोन संवादमा ट्रम्पले यसै साताको शुरुवातमै समर्थन दिने योजना बनाएको खुलाउनुभएको छ । नेतान्याहु बाहेकका अन्य नेताहरूसँग मिलेर काम गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा उहाँले अनिश्चितता व्यक्त गर्दै भन्नुभयो, ‘सायद म काम गर्न सक्छु, सायद सक्दिनँ। यो जोखिम कसले मोल्न चाहन्छ ?’
नेतान्याहुका लागि यो चुनाव राजनीतिक रूपमा निकै चुनौतीपूर्ण मानिएको छ । अधिकांश जनमत सर्वेक्षणहरूले नेतान्याहुको गठबन्धनलाई बहुमतका लागि आवश्यक ६१ सिट जुटाउन कठिन हुने देखाएका छन् । कडा प्रतिष्पर्धात्मक चुनावी माहौलका बीच ट्रम्पको यस अभिव्यक्तिले इजरायली मतदाता र अन्तर्राष्ट्रिय कुटनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।




